Responsive Ad Slot

latest

कलेस्तीमा अस्थायी प्रहरी पोष्ट स्थापना

Tuesday, December 4

/ by Admin BHOLA THAPA
तनहुँ । व्यास नगरपालिकाको व्यवस्थापनमा वडा नम्बर ७ को कलेस्ती बजारमा पहिलो पटक अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । स्थानीयको माग अनुसार जिल्ला सुरक्षा समितिको निर्णयपछि उक्त प्रहरी पोष्ट स्थापना गरिएको हो ।

 प्रहरी हवल्दारको नेतृत्वमा ५ प्रहरी रहने उक्त पोष्टको घरभाडा, मोटरसाइकल, टिभी लगायतका आवश्यक सामग्री व्यास नगरपालिकाले उपलब्ध गराएको छ । उक्त प्रहरी पोष्टको सोमबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सभ्य समाज र न्यायको वातावरण निर्माण गर्ने सवालमा सबैले सहयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

 प्रहरी पोष्टको स्थापनासँगै नागरिकको तर्फबाट पनि प्रहरीलाई सहयोग रहनुपर्ने उल्लेख गर्दै नगर प्रमुख न्यौपानेले सामाजिक न्यायको वातावरण अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले नागरिकको सुरक्षा ठूलो जिम्मेवारीको विषय भएको चर्चा गर्दै यसका लागि प्रहरी निरन्तर खटिरहने भएकोले स्थानीय नागरिकको सहयोग महत्वपूर्ण भएको बताए । प्रहरी उपरिक्षक शिद्धीविक्रम शाहले जनताको साथले मात्रै प्रहरी सफल हुने विश्वास व्यक्त गर्दै प्रहरीको उपस्थिति र नागरिक सचेतनाले मात्रै पनि समाजमा अपराधमा कमी आउने बताए ।

 वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले सुरक्षा कायम गर्ने सवालमा अपराध नियन्त्रणका लागि प्रहरी र स्थानीयको हातेमालो अपरिहार्य भएको बताए । वडा नं. ७ का अध्यक्ष शतिशचन्द्र न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय मनबहादुर गुरुङ, यमबहादुर गुरुङ, वडा सदस्य पम्फा वाग्ले लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI