दमौली, २६ श्रावण । आदिकवि भानुभक्त क्याम्पससले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ । क्याम्पस समितिका अध्यक्ष शान्तिरमण वाग्लेको अध्यक्षतामा शुक्रबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले महासंघको भवन निर्माणका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
उक्त रकम क्याम्पसको वार्षिकोत्सवको अवसरमा भाद्र १८ गते प्रदान गरिनेछ । महासंघको भवन निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको छ ।यसैबीच नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनको नेकपा–माओवादीका सचिव देव गुरुङ्गले अवलोकन गरेका छन् । विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन आएका गुरुङ्गले शुक्रबार भवनको अवलोकन गरेका हुन् । सो अवसरमा गुरुङ्गले भवन निर्माणका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा नेकपा–माओवादीका केन्द्रीय सदस्य हरिबहादुर चुमान, तनहुँ इन्चार्ज डम्बरबहादुर विक, सचिव अतिन्द्रकेशरी न्यौपाने, नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रेस युनियनका अध्यक्ष डम्बर अधिकारी, क्रान्तिकारी पत्रकार महासंघ तनहँुका संयोजक रामबहादुर घले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ तनहँुका कोषाध्यक्ष उज्वल पौडेलले गरेका थिए ।