राम बहादुर धामी, आँबुखैरेनी, १० असार । मृतक सुजन तमाङ्ग प्रकरण सघर्ष समितिले आज तनहुँ जिल्ला बन्द गरेको छ । प्रहरी नियन्त्रणमा रहेका क्रममा गत २०६९ चैत १५ गते मृत्यु भएका पोखरीभञ्ज्याङ गाविस–४ का सुजन तामाङको परिवारलाई राहत उपलब्ध गराउन द्दभन्दै स्थानीय स्तरमा गठित संघर्ष समितिले आज तनहुँ जिल्ला बन्द आयोजना गरेको हो । सरकारले पीडित परिवारलाई उपलब्ध गराउने भनेको १५ लाख रुपैयाँ हालसम्म पनि उपलब्ध नगराएको भन्दै संघर्ष समितिले आज जिल्ला बन्द आयोजना गरेको संघर्ष समितिका संयोजक सन्त तामाङ्गले बताउनु भयो । तामाङ्गले सरकारलाई पटक पटक ध्यानाकर्षण गराइए पनि कुनै सुनुवाई नभएकोले चरणबद्ध आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो । समितिले हिजो साँझ मसाल जुलुस प्रदशन समेत दमौलीमा प्रर्दशन गरेको थियो । संघर्ष समिति, राजनीतिक दलका प्रतिनिधि र मृतकका आफन्त र प्रशासनबीच चैत १६ गते भएको छलफलमा चैत्र मसान्त भित्र सुजनको परिवारलाई सरकारको तर्फबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, आन्दोलनका क्रममा घाईते भएकालाई उपचार खर्च उपलब्ध गराउने सहमति भएको बताइएको छ । यस्तै सुजनलाई पक्राउ गर्ने कार्यमा संलग्न प्रहरीहरुलाई कारवाही गर्ने र तत्काल निलम्बन गर्ने सहमति भएको बताइएको छ । उक्त सहमतिमा दाह संस्कारको लागि ४० हजार रुपैयाँ दिने र प्रहरीहरुलाई निलम्बन गर्ने बाहेकका अन्य सहमतिहरु कार्यान्वयन नभएको संघर्ष समितिका संयोजक तामाङले बताउनु भयो । बन्दकर्ताले दमौलीको मुख्य चोकमा बसेर आन्दोलन गरेका छन् । बन्दका कारण तनहुँको सदरमुकाम दमौलीको बजार विहानै देखि ठप्प भएको छ । यस्तै प्रशासनले जिल्लामा कडा सुरक्षा व्यबस्ता अपनाएको छ । बिहानी संकायमा पढाई हुने सम्पूर्ण कलेजहरुमा समेत पढाई प्रभाबित भएको छ । दमौलीबाट छुटने लामो तथा छोटो दुरीका कुने पनि सवारी साधन सञ्चालनमा आउन सक्केका छैन्न ।