चितवन, असार १ – चितवनको कुरिनटारमा पौडी खेल्न गएका पाँच जना त्रिशुलीमा नदीमा डुबेर बेपत्ता भएका छन् ।
दाह्रेचोक ३ कुरिनटारमा त्रिशुली नदीमा पौडी खेल्ने क्रममा मनिषा रेग्मी, राजनी रेग्मी, लिजा रेग्मी, अस्मिता रेग्मी र जनक रावत बेपत्ता भएका प्रहरीले जनाएको छ ।
उनीहरु १८ देखि २० वर्ष उमेरका रहेका छन् । उनीहरु चितवन भरतपुर बैदिक नगर सापकोटाका रहेका प्रहरीले जनाएको छ । उनीहरुसंगै आएका बालक सुशान्त रेग्मी भने नदी किनारमा बसेकाले जोगिएका छन् ।
६ जनाको समुहमा कुरिनटार घुम्न आएका उनीहरुमध्ये एक युवतीलाई त्रिशुली नदीले बगाएपछि उद्दार गर्न खोजेका अन्यलाई समेत नदीले बगाएको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारका एसएसपी दुर्गाबहादुर कुँवरले बताउनुभयो ।
पाँचै जनाको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।