लमजुङ । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ‘अन्तिम सन्देश’ र ‘मरेर बाँचेकाहरु’ नामक दुई वटा डकुमेन्ट्री हेर्दा आज लमजुङमा धेरैले आफूलाई सम्हाल्न सकेनन ।मैले त आफूलाई थाम्नै सकिन, शुक्रबार बेसीशहरमा डकुमेन्ट्री हेर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्युरो सदस्य पृथ्बीसुब्बा गुरुङले भने । डकुमेन्ट्रीमा बेजोड रुपमा उठाइएको बर्दिया नेउलापुर गाविसकी कविता ओलीले आफ्ना बेपत्ता पिताको सम्बन्धमा पोखेको पीडाले नेता गुरुङलाई घोचेछ । भन्दै थिए- ‘द्वन्द्वले समाजमा नकरात्मक छाप छाडेर गएको छ, जसलाई छिटै सम्बोधन गर्नुपर्छ ।’
कार्यक्रमको अध्यक्षता गरेका थिए, माओवादीबाट बेपत्ता पारिएका लमजुङ चण्डिस्थानका सन्तबहादुर रिमालले । उनले पनि आफ्ना छोरालाई स्मरण गरेछन । ‘मेरो छोराको के गल्ती थियो भनिदेऊ, उसको अवस्था पनि तत्कालै सार्वजनिक गरिदेऊ’- रिमालको भनाइ थियो ।कार्यक्रममा राज्यद्वारा बेपत्ता पारिएका सुर्यपालका कृष्णबहादुर बस्नेतकी छोरी जमुनाले राज्य र राजनीति दलले आफ्ना माग सम्बोधन गर्न नसकेकोमा आक्रोश पोखिन ।पत्रकार पाण्डेद्वारा निर्देशित यी दुई डकुमेन्ट्री यतिबेला देशका विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेको छ । यसैक्रममा शुक्रबार लमजुङ सदरमुकाम बेसीशहरमा पनि प्रदर्शन गरिएको हो । ‘देशमा दण्डहिनता र विधिको शासनका विषयमा प्रश्न उब्जिरहेका बेला नेपालको सशस्त्र द्वन्द्वमा आधारित यी डकुमेन्ट्रीले राज्य र राजनीतिक दलहरुलाई झक्झकाउने काम गरेको संचारकर्मी समेत रहनुभएका डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले बताउनुभएको छ ।३९ मिनेटको अन्तिम सन्देशमा सशस्त्र युद्धका क्रममा आफन्त बेपत्ता बनाइएपछि परिवारले भोगेको आर्थिक, सामाजिक, मानसिक र कानुनी पीडालाई उजागार गर्दै अबको आवश्यकतालाई जोड दिइएको छ । डकुमेन्ट्रीमा सेनाको हिरासतबाट परिवारलाई अन्तिम पत्र लेखेकी सुर्खेत लाटीकोइली गाविसकी दीपा ओलीको मुद्दालाई मुख्य कथाको रुपमा चित्रित गरिएको छ ।यसैगरी, बाबुको श्राद्ध गर्दै गर्दा माओवादीले अपहरण गरी बेपत्ता बनाएका बाँके कोहलपुरका एमाले कार्यकर्ता राजेन्द्र ढकाल, सेनाबाट बेपत्ता पारिएका बर्दिया भुरी गाउँका केशर बस्नेत तथा बर्दिया बनिया भारका सुरेश ओली लगायतको घटनालाई प्रतिनिधिमुलक घटनाको रुपमा उठाइएको छ । सशस्त्र द्वन्द्वका क्रममा ६ हजार भन्दा बढीको मृत्यु भएको छ, एक हजार भन्दा बढी बेपत्ता छन् । बेपत्ताका परिवारले कि लास कि त सास देऊ भन्दै राज्यसँग संघर्ष गरिरहेका छन् । त्यो संघर्षलाई डकुमेन्ट्रीमा उतार्ने प्रयत्न गरिएको छ ।यसैगरी, ३३ मिनेटको ‘मरेर बाँचेकाहरु’ मा यातना पीडितहरुको पीडालाई केन्द्रबिन्दुमा राखिएको छ । डकुमेन्ट्रीमा द्वन्द्वकालमा माओवादीको घन प्रहारबाट आजीवन शारिरीक अशक्त बनेका बाँके हबल्दारपुरका जगदीश यादव, मानसिक सन्तुलन गुमाएका परदेशी खटिक, माओवादीकै कारण खुट्टा गुमाएका बर्दिया सानोश्रीका अशोक सोडारी, हात गुमाएका बर्दियाकै हेमराज थारु तथा राज्यबाट चरम यातना पाएका बांके कोहलपुरका युवराज गिरी, बेलवासपुरका निजामुद्दिन शेख र बर्दिया भुरीगाउँका धनीराम चौधरीको पीडालाई बेजोडका साथ पर्दामा उतारिएको छ ।