Responsive Ad Slot

latest

पोखरामा आजदेखि १४ औं प्याराग्लाइडिङ प्रतियोगिता

Wednesday, February 27

/ by Unknown

पोखरा, फागुन १६ – पोखरामा बुधबारदेखि १४ औं अन्तराष्ट्रिय खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता सुरु हुँदैछ । पोखरालाई अन्तराष्ट्रिय पर्यटन गन्तव्यका रुपमा विकसित गर्ने उद्देश्यले नेपाल हवाई खेलकुद संस्थाले प्रतियोगिता गर्न लागेको हो ।बुधबार पहिलो दिन सहभागीहरुले औपचारिक उडान मात्रै गर्नेछन् भने बिहीबारदेखि प्रतियोगितात्मक उडान हुनेछ । फागुन २१ गतेसम्म चल्ने प्रतियोगितामा विश्वभरका विभिन्न २५ देशका १ सय ५० भन्दा बढी पाइलटहरु सहभागी हुनेछन् । सिरियल क्लास र स्पोर्टस् क्लास गरी दुई तहमा खेलाइनेछ ।यस्तै, स्पट ल्याण्डिङ, बेष्ट राफ्ट ल्याण्डिङ, बेष्ट एक्रोब्याट्स, बेष्ट टेण्डम फ्लाइट लगायतका विधामा पनि प्याराग्लाइडरहरुवीच प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा नेपालका करिब ४० जना प्याराग्लाइडिङ पाइलटहरुले सहभागिता जनाउने संस्थाले जनाएको छ ।प्रतियोगितामा सिरियल क्लासतर्फ पहिलो हुनेले ३०, दोश्रोले २० र तेश्रोले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, स्पोर्टस् क्लासतर्फ पहिलोले १५, दोश्रोले १० र तेश्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउने नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष राजेश बमजनले जानकारी दिनुभयो । संस्थाले प्रतियोगितामा निर्णायक र स्कोररका रुपमा रसियाबाट विज्ञहरुलाई निम्त्याएको छ ।नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को सहयोगमा हुने प्रतियोगिताका लागि करिब १६ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संस्थाले जनाएको छ । सरकारले केही महिनाअघि प्याराग्लाइडिङलाई व्यवस्थित बनाउने नीति लागू गरेपछि, प्याराग्लाइडिङ व्यवसायमा पर्यटन व्यवसायीहरुको आकर्षण बढ्दो छ ।अहिले पोखरामा मात्रै १८ वटा प्याराग्लाइडिङ कम्पनीले नियमित उडान गर्दै आएका छन् । प्याराग्लाइडिङ व्यवसायमा केही नेपाली पाइलट रहेपनि धेरैजसो कम्पनीमा विदेशी पाइलटहरु छन् । नेपाल हवाई खेलकूद संस्थाको तथ्याङ्क अनुसार अहिले नेपालमा करिब १ सय ५० जना नेपाली प्याराग्लाइडर पाइलटहरु कार्यरत छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI