Responsive Ad Slot

latest

राष्ट्रपति पनि छलफलमा व्यस्त

Wednesday, February 13

/ by Unknown
काठमाडौँ, २ फागुन/ सहमतीय सरकार गठनका विषयमा राष्ट्रपतिले प्रमुख राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहनुभएको छ ।

प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने विषयमा दलहरूबीच सहमति जुट्न नसकिरहेका वेला साझा बिन्दु तय गर्न राष्ट्रपतिले राजनीतिक दलहरूलाई सुझाब दिइरहनुभएको छ । राष्ट्रपतिसँगको भेटका लागि आज बिहान राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आफूहरूले राखेको प्रस्तावअनुरूप बहालबाला प्रधानन्यायाधीशको नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गरिदिन राष्ट्रपतिलाई आग्रह गर्नुभएको स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्डसँगको छलफलपश्चात् राष्ट्रपति डा. रामवरण यादव र नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग छलफल गरिरहनुभएको छ । दलहरूबीच हिजो भएको बैठकमा दलहरूबीच बहालबाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन सम्भव नभएपछि दलहरूले अन्य विकल्पका विषयमा राष्ट्रपतिसँग परामर्श गरिरहेका छन् ।

हिजोको बैठकमा एकीकृत माओवादीले बहालवाला प्रधानन्यायाधीशलाई नै प्रधानमन्त्री बनाउनुपर्ने अडान राखेको थियो भने विपक्षीहरूले बहालवाला प्रधान न्यायाधीशबाहेक स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका थिए ।

राष्टपतिसँगको भेटपश्चात् चार दलका नेताहरूले आज पनि आन्तरिक, द्विपक्षीय र बहुपक्षीय छलफल तय गरेका छन् । एकीकृत नेकपा माओवादीका नेता अग्निप्रसाद सापकोटाले आफूहरूले प्रधानन्यायाधीशबाहेकका अरू विकल्प पनि राखेकाले छलफल गर्न तयार रहेको बताउनुभयो ।

बैठकपछि हिजो साँझ राष्ट्रपतिलाई भेट्न गएका नेताहरूलाई राष्ट्रपतिले आजसम्म सहमति जुटाई भोलि बिहान आफूलाई निष्कर्ष सुनाउन आग्रह गर्नुभएको थियो । राष्ट्रपतिले दलहरू अलमलिएको बताउँदै संकट समाधानका लागि गम्भीर बन्न ध्यानार्षणसमेत गराउनुभएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI