Responsive Ad Slot

latest

यो वर्षको हिउँदे वर्षा अहिलेसम्मकै धेरै

Monday, February 18

/ by Unknown

काठमाडौ, फागुन ७ – हिउँदे वर्षा ढिलो गरी भएपनि यो वर्ष अघिल्ला वर्षहरुमा भन्दा धेरै पानी परेको छ ।काठमाडौमा अघिल्लो वर्षको फेब्रुअरी महिनामा औसत वर्षा १७ दशमलव ५ मिलिमिटर रहेकोमा यो वर्ष १८ दशमलव ७ मिलिमिटर मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।फेब्रुअरी १७ तारिख अर्थात् आइतबार २४ घण्टामा गरिएको वर्षामापनमा ३१ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यो हिउँदको समयमा २४ घण्टामा मापन गरिएको अहिलेसम्मकै उच्च वर्षा हो । यो वर्ष जनवरीमा औसत वर्षा १४ दशमलव ४ मिलिमिटर मापन गरिएको थियो ।अझै एक डेढ हप्तासम्म पानी पर्ने र रोकिने क्रम कायमै रहने भएकाले यो वर्षको हिउँदे वर्षाको मापन अझै धेरै हुन सक्ने मौसमविद् विद्यारत्न शाक्यले जानकारी दिनुभयो । काठमाडौ सहित देशका प्रायः सबैजसो ठाउँमा पुसको अन्तिम र माघको पहिलो हप्तादेखि हिउँदे वर्षा शुरु भएको थियो । बिचमा केही दिन रोकिएकोमा ३ दिन यता भने देशका सबैजसो ठाउँमा पानी परेको छ ।सोमबार पनि काठमाडौ सहित धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलि नै रहने मौसमविद् शाक्यले बताउनुभयो । एक/डेढ हप्तासम्म एक/दुई दिन बिराएर पानी पर्ने र त्यसपछि भने मौसममा सुधार हुँदै गर्मी शुरु हुने उहाँको भनाई छ ।पश्चिमी वायुको प्रभाव कायमै रहेको र अहिलेसम्म परेको पानीको बाफको प्रभावका कारण आज भोलिमै मौसममा सुधार हुनसक्ने सम्भावना नदेखिएको मौसमविद् शाक्यले बताउनुभयो । यस्तै यो वर्ष हिमपात पनि अघिल्लो वर्षको तुलनामा धेरै भएको छ ।काठमाडौ उपत्यकामा सोमबार बिहान साढे ६ बजेसम्म ९ मिलिमिटर पानी परेको छ । पानी परेकाले उपत्यकामा सोमबार अलि चिसो छ । आइतबार बिहान साढे ७ बजे ९ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो तापक्रम बढेर २२ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान छ । बिहान ६ बजेर ४० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर ५६ मिनेटमा अस्ताउनेछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI