एजेन्सी, २७ माघ/ लामो बहसपछि सन् २०१४ देखि २०२० सम्मको बजेटमा ३ दशमलव ३ प्रतिशत कटौती गर्न युरोपियन युनियनका देशहरू सहमत भएका छन् ।बजेटमा कटौतीपछि युरोपियन युनियनको बहुवार्षिक बजेट ९ सय ६० विलियन युरो हुने भएको छ । बहुवार्षिक बजेटमा कटौती गरिएको यो पहिलोपटक हो । बहुवार्षिक बजेट कटौतीका लागि पहल गरिरहेको बेलायतले सहमतिको स्वागत गरेको छ । प्रधानमन्त्री डेभिड क्यामरुनले कटौतीले बेलायतलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् ।जर्मन चान्सलर एन्जेला मर्केलले आगामी वर्षहरूका लागि आर्थिक स्थायित्व कायम राख्न सहमति महत्त्वपूर्ण भएको बताएकी छिन् । अधिक कटौतीको विपक्षमा रहँदै आएको फ्रान्सले पनि कटौती प्रतिशत मध्यमखालको भएकाले आर्थिक स्थायित्वका लागि महत्त्वपूर्ण सावित नै हुनसक्ने प्रतिक्रिया दिएको छ ।युरोपियन संसद्ले अनुमोदन गरेपछि यो सहमति लागू हुनेछ । तर, युरोपियन संसद्का चार प्रभावशाली राजनीतिक समूहहरूले भने सहमतिको विरोध गरेका छन् । सहमति युरोपियन जनताको चाहनाविपरीत भएको उनीहरूको भनाइ रहेको बिबिसी अनलाइनले जनाएको छ ।