Responsive Ad Slot

latest

वैद्य माओवादीको बन्दमा मिडिया र पर्यटक गाडी तोडफोड

Tuesday, February 19

/ by Unknown

काठमाडौँ, फागुन ८  - दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या अभियोगमा मुद्दा चलाएको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले गरेको नेपाल बन्दको प्रभाव देशका मुख्य सहरसहित अधिकांश भागमा परेको छ। न्दकर्ताहरुले काठमाडौँ र धनकुटामा सवारी साधन तोडफोड गरेका छन्। बन्दकर्ताले काठमाडौँको लैनचौरमा पर्यटक चढेको बस तोडफोड गरेका छन्। त्यस्तै कान्तिपुर र सगरमाथा टेलिभिजनका भ्यान पनि तोडफोड गरिएको छ। जबरजस्ती बन्द गराउँदै हिँडेका बन्दकर्ताले कान्तिपुर टिभीको बा ८ च ८२१ नम्बरको भ्यान बानेश्वरमा तोडफोड गरेका हुन्।धनकुटाबाट सिद्धराज राईले जनाए अनुसार बन्दकर्ताहरुले ३ वटा गाडीमा तोडफोड गरेका छन्। धरानबाट धनकुटा आइरहेका ३ वटा ट्रकलाई धनकुटा नगरपालिकाको ढाट नजिकै नेकपा- माओवादीका कार्यकर्ताहरुले तोडफोड गरेको धनकुटाका डिएसपी विष्णु कार्कीले बताए।बन्दलाई छल्दै मंगलबार बिहान धरानबाट कुखुराको चारो लिएर आएको को १ ख २१९४ को मिनिट्रक, खाद्यान्न लिएर आइरहेको ना ४ ख ५६९ नम्बरको ट्रक र इँटा लिएर आइरहेको ना ३ ख ४४१७ नम्बरको ट्रक तोडफोड भएको प्रहरीले बताएको छ। बिहान ४ बजे तोडफोड भएका ती गाडीहरुको सिसा र ढोकाहरु फुटेको छ। गाडी तोडफोड भएको खबर पाउने बित्तिकै घट्नास्थलमा प्रहरी टोली पुगे पनि माओवादी कार्यकर्ता भागिसकेको डिएसपी कार्कीले बताए।  मोहन  वैद्य नेतृत्वको नेकपा-माओवादीले पत्रकार डेकेन्द्र थापाका हत्या अभियुक्तलाई मुद्दा चलाएको विरोधमा आह्वान गरेको नेपाल बन्दका कारण आज धौलागिरीको जनजीवन प्रभावित भएको छ। दैलेख घटनासँगै प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्ने तयारीको विरोधमा समेत बन्द गर्नु परेको नेकपा-माओबादी बाग्लुङका सेक्रेटरी ख्यामनाथ गैरे 'अनिल'ले बताए।बन्दका कारण बागलुङ, पर्वत र म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेनन्। यहाँबाट पोखरा, काठमाण्डौ, नारायणगढ, बिरगंज, बुटवल लगायत बजारमा जाने सवारी नचल्दा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन्। बाग्लुङ बजार, म्याग्दीको बेनी तथा पर्वतको कुस्मा बजारका पसलहरु बन्द रहेका छन्। स्कुल, उद्योग धन्दा सबै बन्द भएका छन्। सडकमा बालबालिकाहरु फुटबल, व्याडमिन्टन खेलिरहेका भेटिन्छन्। माओबादी कार्यकर्ताहरु बिहानैदेखि नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए।
Don't Miss
© all rights reserved
made with by netKUTI