हेटौंडा, माघ २७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष दलहरु लोकतन्त्रप्रति प्रतिवद्ध नरहेको बताउनुभएको छ ।मकवानपुरको हेटौडामा शनिबार भएको पत्रकार भेटघाटमा प्रचण्डले प्रधानन्याधीशको नेतृत्वमा चुनावमा जाने सूत्र पनि अस्वीकार गरेर नागरिकको मत लिन प्रतिपक्षदलहरु डराएको आरोप लगाउनुभयो ।लोकतन्त्रप्रति विपक्षीदलहरु प्रतिवद्ध नभए सडकबाटै राजनीतिक गतिरोधको छिनोफानो हुने प्रचण्डको भनाई छ । प्रधानन्यायधीशको नेतृत्वमा चुनावमा गएपनि चुनाव दलहरुले नै जित्ने भन्दै उहाँले चुनावबाट डराएर प्रतिपक्षदलहरु सत्ताका लागि मात्रै लागि परेको बताउनुभयो ।आफूले जेठसम्म चुनाव गर्नका लागि प्रधानन्यायधीश नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने उहाँले बताउनुभयो । कानुनी अड्चन जोसुकै प्रधानमन्त्री हुने भएपनि हटाउनुपर्ने भएकाले प्रधानन्यायधीश नेतृत्वमा चुनावमा जान कानुनी अड्चन नहुने बताउनुभयो । प्रचण्डले आफ्नो पार्टीले अब विकास निर्माणका कामलाई तिब्रता दिने बताउनुभयो ।