नारायण खड्का:- दमौली, ०७ माघ/ तनहुँका तीन युवा मिलेर व्यास नगरपालिका-८ चापाघाटमा पाइप उद्योग सञ्चालन गरेपछि बेसहारा सडक बालबालिकाको राम्रो आम्दानीको स्रोत बनेको छ ।
करिब रु एक करोडको लगानीमा एचडिपी दाना पाइप उत्पादन उद्योग सञ्चालन गरेपछि दमौलीको मादी पुलमुनि बेसहारा अवस्थामा बस्दै आएका छ- सातजना बालबालिकाले प्लास्टिक संकलन गरेर उद्योगमा दिँदा उनीहरूले दैनिक २०० देखि ४०० रुपैयाँसम्म आम्दानी गर्ने गरेको उद्योगका अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।गण्डकी, धौलागिरि र बागमती अञ्चललाई प्रमुख व्यापारिक केन्द्र बनाएर पाइप उत्पादन सुरु गरेको उद्योगले प्रत्यक्षरूपमा १७ जनालाई र अप्रत्यक्षरूपमा ३० जनाभन्दा बढीलाई रोजगारी उपलब्ध गराउँदै आएको छ ।
उक्त पाइप उद्योगले हाल दैनिक ६२० किलोग्राम पाइप उत्पादन गर्दै आएको बताइएको छ। अध्यक्ष श्रेष्ठले दिएको जानकारीअनुसार उद्योगमा रहेका दुई वटा मेसिनमध्ये ठूलो मेसिनबाट ३७० र अर्को सानो मेसिनबाट २५० किलोग्राम पाइप उत्पादन हुँदै आएको छ ।
सोह्र एमएमदेखि ११० एमएमसम्मका विभिन्न साइजका पाइप उत्पादन गर्ने तयारी गरेको उद्योगले आवश्यकता र माग अनुसार १६० एमएमसम्मको साइजको एचडिपी पाइप पनि उत्पादन गर्ने गरेको उद्योगका अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
मासिक करिब रु एक करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको सो उद्योगले अनावश्यक रूपमा जथाभावी फालिएका प्लास्टिक र प्लास्टिकजन्य वस्तु जम्मा गरी पुनःप्रशोधनको माध्यमबाट प्लास्टिक जन्य वस्तु उत्पादन गर्ने तयारीसमेत रहेको बताएको छ