Responsive Ad Slot

latest

गरिब विद्यार्थीलाई लत्ताकपडा वितरण (फोटोसहित) I

Tuesday, January 15

/ by Admin BHOLA THAPA

लमजुङ, २ माघ / बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको संस्था स्माइल राइटले जिल्लाको दुर्गम भेग चिती–३, तिलाहारस्थित जनकल्याण उमाविका गरिब तथा दलित विद्यार्थीलाई लत्ताकपडा वितरण गरेको छ ।


स्माइल राइटले गत आइतबार विद्यालय प्रांगण मै पुगेर जाडोमा लगाउने २७६ थान न्याना कपडा वितरण गरेको हो । विद्यार्थीलाई मात्र नभई उनीहरुका अभिभावकलाई पनि कपडा वितरण गरिएको थियो । कपडा वितरण कार्यक्रममा सयौँको संख्यामा विद्यार्थी तथा अभिभावक उपस्थित थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य तेजनारायण मण्डलले काठमाडौँदेखि आएर आफ्ना गरिब विद्यार्थी र अभिभावकलाई कपडा उपलब्ध गराइदिएकोमा संस्थालाई धन्यवाद दिए । प्राचार्य मण्डलले संस्थाबाट आगामी दिनमा पनि विद्यालयले सहयोगको अपेक्षा गरेको बताए । सोही कार्यक्रममा विद्यालय व्यववस्थापन समितिका अध्यक्ष दयाराम पाण्डेले विद्यालयमा पुस्तकालय भवन बनेको, तर फर्निचर र किताबको अभाव भएकाले त्यतातिर पनि संस्थाले ध्यान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।
‘यस्तो जाडोमा विद्यार्थीलाई कपडा दिनुभयो । यसले उनीहरुको बाहिरी जाडो मेटिने भएको छ,’ उनले भने, ‘अब शिक्षाको जाडो मेटाउन पुस्तकालयका लागि फर्निचर र किताब उपलब्ध गराइदिनुहुनेछ भन्ने विश्वास दिएका छौँ ।’ त्यस्तै, संस्थाकी अध्यक्ष सुजना अधिकारीले निटक भविष्यमै पुस्तकालयका लागि फर्निचर र किताब उपलब्ध गराउन संस्था सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएकी थिइन् ।
‘अहिले हामीले लत्ताकपडा वितरण गर्‍यौँ । यसले थोरै भए पनि यहाँका विपन्न विद्यार्थीलाई सहयोग पुगेको ठानेका छौँ,’ अध्यक्ष अधिकारीले भनिन्, ‘तपाईंको साथ रह्यो भने फर्निचर, किताब र अन्य सहयोगका लागि हामी सधैँ तयार छौँ ।’ कार्यक्रममा संस्थाले सोही स्कुलमा कक्षा १ मा पढ्ने छात्रा दीपा विकलाई दश कक्षासम्म लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जानकारी गराइको थियो । अति विपन्न परिवारकी दीपालाई कार्यक्रममा किताब कापी, कलम, स्कुल ड्रेस प्रदान गरिएको थियो । दीपाका बाबुआमा खोलामा ढुंगागिटी कुट्ने काम गर्छन् ।
जनकल्याण उच्च माविमा करिब आठ सय ५५ विद्यार्थी अध्ययनरत छन । जसमध्ये अधिकांश दलित, जनजाति र चेपाङ समुदायका छन् । अधिकांश अभिभावक आफ्ना छोराछोरीका लागि स्कुल ड्रेस र कापी, किताब किन्न सक्ने अवस्थामा नभएको प्राचार्य मण्डलले जानकारी दिए । जाडोमा न्यानो कपडा पाएपछि ३ कक्षामा बढ्ने छात्रा शर्मिला मगरले खुसी हुँदै भनिन्, ‘अब त जस्तो जाडो भए पनि स्कुल आउन पाइनेभयो ।’  सँगै रहेकी शर्मिलाकी आमा सुनमायाले भनिन्, ‘छोरी सधैँ जाडो हुन्छ । स्कुल जान्न भनेर रुन्थिन् अब त त्यस्तो नहुने भयो ।’ सुनमायालाई पनि चोलो र फरिया प्रदान गरिएको थियो ।
-नेपालवाणी
Don't Miss
© all rights reserved
made with by netKUTI