Responsive Ad Slot

latest

करोडौँ मूल्यका पाठयपुस्तक गोदाममै थन्कियो I

Wednesday, January 16

/ by Admin BHOLA THAPA

खजुरा (बाँके), ३ माघ/ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका नेपालगन्ज र धनगढीस्थित गोदाममा वर्षौंदेखि करोडौँ मूल्यका पाठयपुस्तक थन्किएका छन् ।

नेपालगन्ज र धनगढीस्थित जनक शिक्षाको गोदाममा रु एक करोड ११ लाख मूल्य बराबरका पुस्तक वर्षांैदेखि थन्किएको हो । तीमध्ये अधिकांशमा धमिरासमेत लाग्न थालिसकेका छन् ।

कक्षागत अङ्ग्रेजी व्याकरण, जनक स्कुल एटलस र अनौपचारिक शिक्षाअन्तर्गतको गृहणी शिक्षाको पाठयपुस्तक वर्षांैदेखि गोदाममा थन्किएर रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड नेपालगन्जले जनाएको छ ।

आठ वर्षदेखि जनक शिक्षाले नै प्रकाशन गरेको एक कक्षादेखि १० कक्षासम्मको रु ३७ लाख ३० हजार ७४३ बराबरका ३६ हजार २०३ अङ्ग्रेजी व्याकरण नेपालगन्जस्थित गोदाममा थन्किएको जनाइएको छ ।

अङ्ग्रेजी शिक्षालाई सामुदायिक विद्यालयसम्म पुर्‍याउनका लागि तत्कालीन समयमा कक्षागत आधारमा एकदेखि १० कक्षासम्मको अलगअलग व्याकरण छापिएको थियो । भौगोलिक, ज्ञान, नक्सा र चित्र रहेको जनक एटलस पनि गोदाममै थन्किएको छ ।

साहित्य प्रकाशनको रोयल्टीमा छापिएको जनक एटलस पनि प्रयोगबिहीन भएर गोदाममै रहेको छ । साझा प्रकाशनले बजार व्यवस्थापन गर्छौ भनेर छापिएका ती सबै पाठयपुस्तक त्यसै खेर गइरहेका छन् ।

तत्कालीन समयमा सबैका लागि शिक्षाअन्तर्गतको कार्यक्रमका लागि सो पाठयपुस्तक जनक शिक्षाले छापेको थियो । त्यो पाठयपुस्तक जिल्ला शिक्षा कार्यालय हुँदै लक्षित गृहिणीमा पुग्नुपर्नेमा गोदाममै थन्किएको छ ।

सबैलाई साक्षर बनाउनका लागि यति धेरै लगानी गरेर छापिएका हजारौँ पाठयपुस्तक गोदाममै सडिरहेका छन् । सो कार्यालयका अनुसार, नेपालगन्जको गोदाममा मात्रै रु ६६ लाख ५० हजार ४१६ मूल्य बराबरको ८० हजार ९८७ थान पाठयपुस्तक वर्षौंदेखि थन्किएको छ । रासस

 
Don't Miss
© all rights reserved
made with by netKUTI