दमौली १ माघ / नेपाल शिक्षक संघ तनहुँको ७ औ जिल्ला अधिवेशन आइतबार राती सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट संघको अध्यक्षमा विजयराज पौडेल निर्वाचित भएका छन् । पौडेलले ७ सय ७५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गणेश बहादुर खत्रीले ६ सय ८७ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा रामचन्द्र पोख्रेल निर्वाचित भएका छन् ।
पोख्रेलले ७ सय २६ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी अनिल श्रेष्ठले ६ सय ७३ मत पाएका थिए । त्यस्तै महिला उपाध्यक्षमा चिनु पोखरेल निर्वाचित भएकी छन् । पोखरेलले ७ सय २७ मत पाएकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी लक्ष्मी मल्लले ६ सय ६५ मत पाएकी थिइन् ।
त्यस्तै सचिवमा चिज बहादुर दरै निर्वाचित भएका छन् । दरैले ७ सय २७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकराज सेढाईले ६ सय १४ मत प्राप्त गरेका थिए । त्यसैगरी संघको सहसचिवमा पदम खनाल निर्वाचित भएका
छन् । खनालले ३ सय ६२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गणेशराज लोहनीले ३ सय २४ मत प्राप्त गरेका थिए । साथै अन्य उम्मेदवारहरुमा कृष्णराज ढकालले २ सय ८८, विष्णुप्रसाद बरालले १ सय ३८ र मनोहर श्रेष्ठले १ सय १८ मत पाएका थिए । त्यस्तै कोषाध्यक्षमा रविचन्द्र वाग्ले निर्वाचित भएका छन् । वाग्लेले ५ सय ९२ मत पाएकाथिए भने उनका निकटतम प्रतिद्वन्द्वी शिवलाल पन्थले ३ सय ४५ र अर्का उम्मेदवार रमेशबाबु भट्टराईले २ सय ९५ मत पाएका थिए ।
यस्तै संघको इलाका सदस्यहरुमा भरत काफ्ले, तेज गुरुड, ज्ञानेन्द्र पण्डित, करुणा पण्डित, कृष्णप्रसाद खनाल, रामनाथ काफ्ले, महेन्द्रकुमार श्रेष्ठ, केदारनाथ सिग्देल, खुमकान्त अर्याल, दधिराज शर्मा, हरिराज अधिकारी र दयाराज कट्टेल निर्वाचित भएका छन् । त्यस्तै संघको महिला सदस्यहरुमा कमला काफ्ले, तिलमाया गुरुड र कमला पौडेल निर्वाचित भएका छन् ।
त्यसैगरी केन्द्रीय प्रतिनीधिमा रमेशचन्द्र हड्खले (७११), कमलभक्त पोख्रेल (६२९), ज्ञानेन्द्र न्यौपाने (५३५), माधव खनाल (४७३) र हरिशरण पण्डित (३६०) निर्वाचित भएका छन् । यसैगरी महिला केन्द्रीय प्रतिनीधिमा पुष्पकला भट्टराई (७९०), रसमाया गुरुङ्ग
(६६७) र गिरीमाया मिश्र (६०६) निर्वाचित भएका छन् ।
आफूहरुको विरुद्धमा सिंगो पार्टी लागेको खत्री पक्षधरको भनाई
यसैबीच जिल्लामा भातृ संगठन कब्जाको रणनीतिमा लागेको कांग्रेस उपसभापति रामचन्द्र पौडेल खेमा शिक्षक संघ तनहुँको अधिवेशनमा खुलेर लागेको पाइयो ।
पौडेल खेमाका उम्मेदवार विजयराज पौडेललाई विजयी गराउन पौडेल खेमाका जिल्ला स्तरीय नेताहरु भोट माग्दै हिँडेका थिए । त्यस्तै पौडेललाई जिताउन पार्टी सभापति ध्रुव वाग्ले समेत लागेको बुझिएको छ । आफ्नो खेमाका उम्मेदवार विजयराज पौडेलले हारेको खण्डमा नाक काटिने डरले पनि उनीहरु खुलेर लागेको बुझिएको हो । विगतमा शिक्षक संघमा जोशी खेमाको वर्चस्व कायम हुँदा निकै मार खेप्दै आएका उपसभापति पौडेल खेमालाई आफू पक्षधर उम्मेदवारले विजय हात पारेपछि ठूलो राहत महशुस गरेका छन् ।
यता खत्री पक्षधरले भने आफूहरुको विरुद्ध सिंगो तनहुँ कांग्रेस लागेको बताएका छन् ।
निर्णायक मत तेस्रो धारको
यसैबीच शिक्षक संघ तनहुँको निर्वाचनमा निर्णायक मत तेस्रो धार मानिएका केन्द्रीय सदस्य शंकर भण्डारीको भएको बुझिएको छ ।
स्रोतका अनुसार भण्डारीको पक्षमा झण्डै २ सयको हाराहारीमा पकेट मत रहेको थियो । त्यही मतका आधारमा पौडेलले चुनाव जितेका हुन । सेतीमादी दैनिकलाई प्राप्त जानकारी अनुसार निर्वाचनको अघिल्लो दिन भण्डारी पोखरा जानेक्रममा गृहजिल्ला दमौलीमा बसेका थिए । त्यसक्रममा शिक्षकहरुसंग भेटघाट भएको थियो ।
त्यस्तै केन्द्रीय सदस्य भण्डारीका दाजु एवं तनहँु कांग्रेसका कोषाध्यक्ष छत्रराज भण्डारी समेत खुलेर पौडेलका लागि खुलेर समर्थन गरेका थिए । यता खत्री पक्षधरका शिक्षकहरु भने कांग्रेस उपसभापति रामचन्द्र पौडेल पक्षधरले ओरालो लागेको हरिणलाई लखेटे जसरी लखेटेको अवस्थामा खत्रीले तेस्रो धारका नेता भण्डारीको विश्वास जित्न नसक्नु गम्भीर भूल भएको बताउँछन् । साथै यो नतिजाले जिल्लामा जोशीपक्षलाई नराम्रो धक्का लाग्न पुगेको चर्चा चल्न थालेको छ ।-सेतीमादी