Responsive Ad Slot

latest

खाडी मुलुक जाने घरेलु कामदारले सेवा शुल्क तिर्नु नपर्ने I

Sunday, January 13

/ by Admin BHOLA THAPA

काठमाडौं, २९ पुस/ खाडी मुलुकमा घरेलु कामदारका रूपमा श्रम गर्न जाने महिलाहरूसँग सेवा शुल्क नलिने निष्कर्षमा वेदैशिक रोजगार व्यवसायी पुगेका छन् ।

खाडी राष्ट्रहरू कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमानमा रोजगारदाताले नै घरेलु कामदारको सबै खर्च व्यहोर्ने भएकाले यहाँबाट ती मुलुकमा कामदार पठाउने रोजगार व्यवसायीले पनि रकम नलिने निर्णय गरेका हुन् ।

खाडी मुलुकमा रोजगारी उपलब्ध गराउने त्यहाँका कम्पनीले सेवा शुल्क लिने भएकाले आफूहरूले व्यक्तिगतरूपमा रकम उठाउँदै आएको अब त्यसलाई संस्थागत बनाउन सम्बन्धित कम्पनीसँग परामर्श गरी चाँडै नि:शुल्क घरेलु कामदार पठाइने वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङले राससलाई बताउनुभयो ।

काममा लगाइदिने विदेशी कम्पनीसँग सेवा शुल्क नलिन आफूहरूले अनुरोध गरेको तथा उनीहरूले सकारात्मक जवाफ दिएको जानकारी दिँदै उहाँले त्यसलाई शीघ्र कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

अध्यक्ष तामाङका अनुसार सङ्घले श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागलाई यससम्बन्धमा लिखित जानकारी गराइसकेको छ ।

प्रवेशाज्ञा, हवाइ टिकट, श्रम स्वीकृतिका लागि आवश्यक पर्ने खर्च रोजगारी दिने व्यक्तिले नै तिर्दै आएका भए पनि घरेलु कामका लागि जाने महिलाले जनही रु ८० हजार सेवा शुल्क बापत तिर्दै आएका छन् ।

घरेलु कामदारले तिरेको उक्त रकम विदेशमा श्रमिक आपूर्ति गर्ने कम्पनीलाई बुझाउँदै आएको अध्यक्ष तामाङको कथन छ । ‘अब एक पैसा पनि तिर्नुपर्दैन’– श्रम स्वीकृति लिएर जान चाहनेहरूलाई शुल्क नलाग्ने उल्लेख गर्दै उहाँले भन्नुभयो ।

श्रम स्वीकृति लिएर जानेहरूसँग सेवा शुल्कका नाममा रकम असुल्न नपाइने उल्लेख गर्दै श्रम तथा वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई त्यसरी शुल्क लिनेहरूलाई उजुरी परेको २४ घन्टाभित्र कारबाही गरिने ठोकुवा गर्नुहुन्छ ।

गैर कानुनीरूपमा काम गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गर्दै उहाँ विभागले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो ।

विभागका अनुसार हरेक दिन ५० देखि ७० जना महिला घरेलु कामदारका रूपमा विदेशिने गरेका छन् । बितेका पाँच वर्षमा ५८ हजार भन्दा बढी महिला खाडी मुलुक पुगेका छन् । गत वर्षमात्र २२ महिला त्यता गएका थिए ।

गैरकानुनी ढङ्गले भारतको बाटो भएर पनि घरेलु कामदार खाडी राष्ट्रहरूमा जाने गरेका तथा ती मुलुकमा करिब दुई लाख ४४ हजार महिला काम गरिरहेका राष्ट्रसङ्घीय महिला मञ्च (युएन वुमन)ले अनुमान गरेको छ ।

उक्त संस्थाका अनुसार साउदी अरेबियामा मात्र ६३ हजार महिला कार्यरत छन् । त्यस्तै कुबेतमा २५ हजार, कतारमा १८ हजार, ओमानमा १० हजार र संयुक्त अरब इमिरेट्समा सात हजार घरेलु कामदार श्रम गरिरहेका छन् ।

खाडी मुलुकमा घरेलु कामदारलाई समस्या नहोस् भनेर सरकारले ३० वर्ष मुनिका महिलालाई त्यता जानबाट रोक लगाएको छ भने रोजगारदाता आपराधिक गतिविधिमा संलग्न नरहेको हुनुपर्ने प्रावधान थपिएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्का बताउनुहुन्छ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित एवम् महिलामैत्री बनाउन सरकारले उक्त व्यवस्था गरेको उहाँको तर्क छ । नयाँ प्रावधानअनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को मापदण्डअनुसार निश्चित कार्य समय, नेपालमा नियमितरूपमा सम्पर्क गर्न पाउने श्रमिकको अधिकारको सुनिश्चितता, रोजगारी दिनेले कम्तीमा छ महिनाको तलब नेपाली राजदूताबासमा धरौटीस्वरूप राख्नुपर्ने छ ।

त्यसैगरी, राजगारदाताले घरेलु कामदार राख्न सक्ने आर्थिक हैसियत भएको ‘आम्दानी’को प्रमाणपत्र पनि राजदूतावासमा प्रस्तुत गर्नुपर्ने प्रावधान लागू गरिसकेको छ । विगतमा नेपाली चेलीहरू खाडी मुलुकमा शोषित भई अलपत्र परेकाले सरकारीस्तरमा ती प्रावधान कडाइका साथ कार्यान्वयन गरिएको हो । (शरच्चन्द्र भण्डारी)रासस

 
Don't Miss
© all rights reserved
made with by netKUTI