काठमाडौं, माघ ७ – सरकारले माघ महिनाभित्र दुईथरी ग्यास सिलिण्डर लागु गर्ने तयारी गरेको छ । उद्योग व्यवसायीका असहयोगका बाबजुत पनि सरकारले माघ १९ गतेदेखि दुईथरीका ग्यास सिलिण्डर बजारमा ल्याउने गृहकार्य गरेको हो ।दुईथरीका सिलिण्डर ल्याउने विषयमा उद्योगीसित लामो समयदेखि छलफल भएपनि निकास ननिस्केपछि जसरी भए पनि कार्यान्वयन गर्ने तयारी भएको ग्यास बिक्रेता महासंघले जनाएको छ ।उपभोक्ता हितमा काम गर्दा उद्योगीले साथ नदिएकाले असहयोगका बाबजुत सिलिण्डर ल्याउने तयारी भएको महासंघको भनाई छ । महासंघका महासचिव महेश्वर कुमार श्रेष्ठका अनुसार उपभोक्ताले प्रयोग गर्ने रातो सिलिण्डरमा कति सहुलियत दिने भन्नेबारे अहिले सरकारले छलफल थालेको छ ।गएको भदौ महिनामा नै दुई थरीका सिलिण्डर ल्याउने बताईएपनि ढिलाई भईरहेकाले यो कार्यान्वयनमा आउने विषयमा भने आशंका उब्जिएको छ ।ग्यासको अभाव र कालोबजारी रोक्न उद्योगीका लागि निलो र उपभोक्ताका लागि रातो सिलिण्डर प्रयोगमा ल्याउने तयारी भएको हो ।