दैलेख, ८ माघ/ पत्रकार डेकेन्द्रराज थापाको हत्याबारेमा प्रहरीले आजदेखि स्थलगत अध्ययन गर्ने भएको छ ।०६१ साल साउनमा तत्कालीन माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेका पत्रकार थापाको हत्याका विषयमा दैलेख प्रहरीले आजबाट स्थलगत अध्ययन, अनुसन्धान गर्न लागेको हो ।प्रहरीले थापालाई अपहरण गरी लगेको स्थान नौमुले गाविस, हत्या गरिएको स्थान द्वारी गाविसलगायतका क्षेत्रमा पुगेर थापा हत्याका प्रत्यक्षदर्शीहरूसँग कुराकानी र छलफल गरिने जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।हत्या अभियोगमा पक्राउ परेकाहरूले दिएको बयानमा पत्रकार थापाले पानी मागेको ठाउँ, जिउँदै गाडिएको स्थललगायतका ठाउँमा पुगी हत्याबारे थप अनुसन्धान गरिने अनुसन्धान अधिकृत शर्माले बताउनुभयो ।थापाको हत्याको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पक्राउ परेका अभियुक्तहरूले हत्यामा कम्तीमा १५ जनाको संलग्नता रहेको बयान दिएका छन् ।