माघ ७ । नारायणगढको नारायणी नदी किनारको जग्गा नाप्नका लागि पुगेको नापी कार्यालयको टोली जग्गा ननापी फर्किएको छ । सर्वाेच्च अदालतले सार्वजनिक जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको भन्दै स्थानीय बासीन्दाहरुले जग्गा नाप्न अवरोध गरेपछि टोली जग्गा ननापी फर्किएको हो । भरतपुर नगरपालिका वडा नम्बर ४ स्थित नदि किनारको ३ विगाह ९ कट्टा जग्गा सेवन पन्त सहितका ९ अंशियारको भएको भनी सर्वाेच्च अदालतले फैसला गरेको थियो । अदालतको फैसलालाइ आधार बनाइ पन्त परिवारले सो जग्गाको नापी गराउन नापी कार्यालय भरतपुरका नापी अधिकृत रमाकान्त आचार्य नेतृत्वको टोली लगेका थिए । स्थानीय राजनितिक दलहरु र सर्वसाधारणले नदी किनारको जग्गा सर्वजनिक स्थान भएकाले सो व्यक्तिको नाममा जान नहुने तर्क गरेका छन । तर पन्त परिवार भने सो जग्गा आफुहरुको दावी गर्दै आइरहेका छन । २०१५ साल देखि आफ्ना बाजे खड्क बहादुर पन्तको नाममा रहेको जग्गा सर्वाेच्च अदालतले आफुहरुको नाममा कायम गराएको थर्कजंग पन्तले बताउनु भयो । यता स्थानीय बासीन्दाहरु भने सो जग्गा व्यक्तिको हुनै नसक्ने दावी गर्दै आएका छन । स्थानीय बामदेव खनालले सार्वजनिक जग्गा व्यक्तिको हुन नसक्ने तर्क गर्नु भयो ।