लालबन्दी, ७ माघ/ कलाकार राजेश हमालले जनताको प्रस्ताव भए आफू प्रधानमन्त्री बन्न तयार रहेको बताउनुभएको छ । सर्लाहीको हरिवनमा सञ्चारकर्मी माझ हमालले आफू प्रधामन्त्री बन्न तयार हरेको बताउनुभएको हो ।
स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्ने चर्चा भइरहेको समयमा तपाई प्रधानमन्त्री बन्नु हुन्छ भन्ने प्रश्नमा हमालले भन्नुभयो, ‘नेपालीको चाहना भयो भने चुनौती स्वीकार गर्न आफू तयार छु ।’ तर, आफू अहिले नै राजनीतिमा हाम नफाल्ने बताउँदै उहाँले भविष्यमा भने लाग्न सक्ने संभावना औंल्याउनुभयो ।
जनताले जिम्मेवारी दिएर पठाएका नेताहरूमा नै चेतना आउनुपर्ने उहाँको भनाइ थियो । राजनीतिमा चासो राख्नु सबै सचेत नागरिकको कर्तव्य भएको हमालको टिप्पणी थियो । राजनीति सुधार्न नेताहरू नै सुध्र्रनु पर्ने उहाँको दाबी छ ।
देशको राजनीतिको बारेमा कुराकानी गर्दा निकै चिन्तित देखिनुभएका हमालले राजनीतिक स्थिरता नभएसम्म चलचित्र क्षेत्रको विकास नहुने बताउनुभयो । चलचित्र विकास बोर्डमा चलचित्रलाई बुझेको व्यक्ति आए चलचित्र क्षेत्रको विकास हुने उहाँको अपेक्षा थियो ।
सिनेमा क्षेत्रमा धेरै चुनौती रहेको स्वीकार गर्दै महानायक हमालले समय सापेक्ष चलचित्र बन्न नसक्दा चलचित्रले सोचेको बजार पाउन नसकेको उहाँले बताउनुभयो ।
चलचित्र क्षेत्रमा महानायकको उपाधी पाईसक्नु भएका हमालले भविष्यमा निर्देशक बन्ने सोच रहेको बताउनुभयो । राजेश हमालले अहिले केहिबेरमा सर्लाहीको घुर्कौलीमा रहेको द्वन्द पीडित गृहमा पुस्तकालयको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।
हमालले यस वर्ष पनि आफ्नो विवाह नहुने बताउनुभयो ।