कञ्चनपुर, ७ माघ/ लोपोन्मुख समुदायका राउटेहरू पहाडमा जीवन धान्न गाह्रो भएपछि तराईमा बसाइँ सार्न थालेका छन् ।
दार्चुलाबाट एक परिवार राउटे कञ्चनपुरको चुरे फेदको टुँडिखेलमा आएको छ ।भीमदत्त नगरपालिका–९ अन्तर्गत पर्ने टुँडिखेलमा आएका वड सिंह राउटे जयलाल राउटेको परिवारसित बसेका छन् । टुँडिखेलमा अब राउटेका दुई परिवार भएका छन् ।
बसाइँ सरी आएका सिंहको श्रीमतीसहित सात जना छन् । जयलाल उनका काका पर्छन् । दार्चुलामा खान लाउन समस्या भएपछि तराई आएको सिंहले बताए । पहाडमा जति घुमे पनि खान लाउन सकिएन, उनले भने, ‘यता काका पनि छन्, केही व्यवस्था हुन्छ भनेर यता आएको हुँ ।’ उनले जयलालको घरनजिक जमिनमा टहरा बनाउने बताए ।
महाकाली नदी किनारमा २०५५ सालदेखि बस्दैआएका राउटे परिवार शान्ति पुनस्र्थापनापछि डडेल्धुरा भित्री मधेस फर्किएका थिए । पहाडबाट आएका बासिन्दाले उनीहरूको जग्गा कमाएका छन् । पहाडी समुदायले वस्ती बसेर घेराबन्दी गरेपछि उनीहरू त्यो ठाउँ छाडेर हिँडेका थिए । दस परिवार राउटेमध्ये जयलाल मात्रै टुँडिखेलमा बसेका थिए ।
नदी किनारमा आफ्नै जमिनमा बसेका जयललाले यसै वर्षदेखि नयाँ ठाउँमा टहरा बनाएका थिए । उब्जनी नहुने पाखा जग्गा भएकाले जयलालको परिवारले मजदुरी गरी जीविका चलाउने गरेका छन् । महाकाली नदी किनारमा वस्ती छाड्नुअघि उनी खेतीपाती पनि गर्थे ।
पहाडबाट आफ्ना समुदायका मान्छे आएपछि जयलाल परिवार खुसी देखिएको छ । रासस