पाल्पा, ७ माघ/ महिला हिंसाविरुद्ध स्थानीयले पाल्पाको रामपुर बजारमा बृहत् प्रदर्शन गरिरहेका छन् ।
महिना दिनअघि बेपत्ता भएकी पाल्पा रामपुरकी २७ वर्षीया सोनु खनाल श्रेष्ठको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेपछि हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले विरोध जुलुससमेत निकालेका छन् ।
स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै रामपुर बजार पूरै नियन्त्रणमा लिएको बताइएको छ । स्थानीयको भीड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गर्दा झडप भएको र दुवै पक्षका केही व्यक्ति घाइतेसमेत भएको बताइएको छ ।
प्रहरीले भीड नियन्त्रणका लागि १५ सेलभन्दा बढी अश्रुग्याससमेत प्रहार गरेको बताइएको छ । गत पुस ४ गतेदेखि बेपत्ता भएकी रामपुर–५ की सोनुको कालीगण्डकी नदीको रामपुर–१ ज्याग्दी परेवाघाटकिनारमा हिजो (शनिबार) शव भेटिएको थियो ।
सोनुको हत्या उनकै पति ओमप्रसाद श्रेष्ठले गरेको आरोप लागेको छ भने उनले अस्वीकार गरेका छन् । सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर पूर्वमा भएको घटनाको आफन्तले तीनपटक प्रहरीलाई निवेदन दर्ता गर्दासमेत उनको खोजी हुन सकेको थिएन । सोनुका माइती पक्षको सम्पत्तिमा हक दाबी गर्ने कोही नभएकाले सम्पत्तिका लागि पटकपटक यातना दिने गरेको र यौन हिंसा गरेको ओमप्रसादले स्विकारेको अवस्थामा सम्पत्तिकै लागि नै हत्या गरेको स्थानीयको आरोप छ ।