रामहरि गजुरेल ,
नुवाकोट २ माघ/ नेपालीहरुको महत्वपूर्ण चार्डपर्वहरुमध्येको माघेसङ्क्रान्ति पर्व अर्थात मकरसङ्क्रान्ति हाम्रो समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड हो । घ्यू, चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर यसलाई मनाइन्छ । तैपनि, यो पर्व तारुकामा भने जिव्रोको स्वाद फेर्ने परम्परामा मात्र सिमित छैन सयौँ वर्षेखि ती परिकारहरुको अतिरिक्त धुमधाम शैलिमा मनाइने गोरुजात्रा मेला नुवाकोट जिल्लाको सुन्दर गाउँ तारुकावासीको अमिट पहिचान बनिसकेको छ ।
गाउँका अजंगका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगितालाई नुवाकोट जिल्लाको तारुकामा पर्ने चन्दनीडाँडामा विगत एक सय ५० बर्षभन्दा पहिलेको लामो समयदेखि स्थानियहरुले निरन्तर परम्पराको रुपमा मनाउँदै आइरहेका छन् । तारुकाको पहिचान, देशकै स्वाभिमान भन्ने मूल नाराका साथ तारुकालाई आन्तरिक पर्यटन गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्यले अघिल्ला वर्षा भन्दा यसपटक भएको राष्ट्रिय सञ्चार क्षेत्रका सञ्चारकर्मी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र दर्शक भरिएका थिए । यसपटकको गोरुजात्रामा १८ हल गोरु जुधाइएको थियो ।
गोरुजुधाईमा अमर बहादुर भण्डारीको काले र अर्जुन बहादुर भण्डारीको तारे गोरुबीच भएको भिडन्त लगातार ४० मिनेटको जुधाईपछि अर्जुन बहादुरको गोरुले जीतेको छ । प्रकाश रेग्मीको फुर्के र मेयरमान श्रेष्ठको काले गोरुबीचमा काले गोरुले जितेको छ । मोतिराम ढकालको बर्ने र श्याम बहादुर श्रेष्ठको सिँगारे गोरुबीच भएको घम्साघम्सीमा दुवै गोरु बराबरीबाट विजयी भएका छन् । अन्य विजयी गोरु तथा गोरुधनीहरुमा तोयानाथ ढकालको बर्ने, अशोक तामाङको काले र कृष्णप्रसाद लामिछानेको जोवाने गोरु जित्न सफल भएको मेला आयोजक समितिका अध्यक्ष जनकराज ढुङ्गानाले बताउनुभयो । त्यसैगरि, अन्य सात हल गोरुले बराबरीमा जीत हाँसिल गरेका छन् । पुरस्कारस्वरुप जित्ने गोरुधनीहरुलाई एक हजार पाँच सय र सहभागिता जनाएका तर पराजितलाई एक हजार रुपैयाँको दरले पुरस्कार दिइएको थियो ।
मेलालाई थप आकर्षक बनाउन पुगेका नेपाल सरकारका पर्यटन तथा नागरिक उड्ययन मन्त्रि पोष्टबहादुर बोगटीले परम्परागत संस्कृतिबाट मौलिक पहिचान स्थापित गरिसकेको ऐतिहासिक गोरुजात्राले नुवाकोटसहित नेपालकै चिनारी दिएकाले पर्यटन पवर्द्धन र मेलाको विकास तथा निरन्तरतामा हयगोग पुर्याउने प्रतिवद्धता जनाएका छन् । ‘तारुकाको गोरुजात्रा मेला नुवाकोटको मात्र नभई नेपालकै मौलिक साँस्कृतिक परम्पराको सम्पति हो, यसको पर्यटकिय पवर्द्धनमा सबैको सक्रियता चाहिन्छ’, मन्त्री बोगटीले आवश्यकता औँल्याए । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलोपटक सुरु गरेका थिए । उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बुढापाकाहरुको धारण छ, जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् । यही परम्परा अन्ततः वरपरको गाउँलेहरुको लागिसमेत मनोरञ्जनको माध्याम र खेल जात्रा बनेको हो ।
आफूले गुन्द्रुक खाएर गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले, मकै आदी पोसिला खाद्यान्न र अन्य प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् । जुरो ढल्किएको चिल्लो साँढे घरमा पालेर यस पटक जुधाउने तयारी गरिरहेका अमरबहादुर भण्डारीले मेलामा जुधाउन ल्याएको साँढे देखाउँदै भन्नुभयो, ‘आफुले रुखोसुखो खाएर त्यसलाई मिठोमसिनु खुवाए माघेसङ्क्रान्तिमा जुधाउनकै लागि ।’ जुधाउन ल्याइएका गोरुले प्रतियोगिता जितेमा गाउँमा वर्षौभरि आफ्नो चर्चा भैरहने भण्डारीको भनाई छ ।
प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया बहरगोरुहरु लगातार एक घण्टासम्म भिड्ने गर्छन् । नेपालमै गोरुजात्रा हुने एकमात्र जिल्ला नुवाकोटको तारुका गाविसस्थित चन्दनीमा यसवर्ष गोरुजुधाईको रौनक हजारौँ दर्शकले अवलोकन गरे । कमैलाई मात्र थाहा छ, तारुकाको सदियौँ पुरानो ऐतिहासिक चिनारी बोकेको गोरु जुधाईको परम्परा । तैपनि राजधानी काठमाण्डौंसँगै जोडिएको नुवाकोटको तारुकाका लागि भने यो मौलिक परम्परा बनिसकेको छ । दशैं तिहारजस्ता हिन्दू आस्थाका चार्डपर्वमासमेत घर नर्फकनेहरु माघे सङ्क्रान्तिमा भनेपनि साँढेको बेजोड घम्साघम्सी हेर्न घर आउने चलन यहाँ रहेको छ । आफन्त तथा साथीहरुसँग मेलमिलाप गर्ने र भेटघाको अवसरको रुपमासमेत तारुकावासीले यस पर्वलाई महत्वका साथ लिने गरेको पाइन्छ । तारुकामा हुने गोरुजात्रा आन्तरिक तथा बाहृय पर्यटकका लागि मनोरञ्जनको गतिलो माध्याम हुनसक्ने स्थानिय र अन्य पर्यटन व्यवसायीहरुको दावी छ । अन्तराष्ट्रिय स्तरमा मनोरञ्जनको अनुपम खेल सौगात मानिने गोरु जुधाउने परम्पराको संरक्षण गरी प्रचारप्रसार व्यापक हुन सकेको छैन ।
विगत केही बर्षदेखि नुवाकोट, धादिङ, रसुवा, काठमाण्डौं लगाएतका जिललाहरुबाट दर्शकहरुको उपस्थिति बढ्न थालेपछि जात्रा व्यवस्थापन गर्न आयोजकले सयौँको संख्यामा स्वयंसेवकहरु समेत खटाउने गरेको छ । ‘यो परम्पराको निरन्तरता मात्र होईन, गाउँलेको एकताको नमूना पनि हो । केही बर्षदेखि राष्ट्रिय सञ्चार माध्यामले यहाँको मेलालाई विशेष प्राथमिकता दिनाले पर्यटकिय प्रवर्द्धनमा सहयोग पुगेको छ, सञ्चारकर्मी विष्णु तारुकेले बताए ।