काठमाडौ, मंसिर २० – नेपालमा पहिलोपटक अपाङ्गता भएका नागरिकहरुका लागि बुधबार रोजगार मेला शुरु हुँदैछ ।काठमाडौमा हुने मेलामा अपाङ्गता र रोजगारीको अन्तरसंबन्धका बिबिध पक्षमा छलफल गरी उनीहरुका लागि उपयुक्त रोजगारीका अवसर अभिवृद्धि गर्ने प्रयास गरिने आयोजकले जनाएको छ ।मेलामा अपांगता भएका नागरिकलाई संगठित रूपमा रोजगारी प्रदान गरिरहेका संघसंस्था र निजी व्यावसायिक प्रतिष्ठानहरूको अनुभव, अपांगता भएका नागरिकको रोजगार अनुभव, सुविधा वा समस्याहरू, रोजगारीका लागि विद्यमान कानुनी व्यवस्था लगायतका विषयमा छलफल हुनेछ ।महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालय, उद्योग वाणिज्य महासंघ, नेपाल पत्रकार महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको महासंघको संयुक्त आयोजनमा मेला हुन लागेको हो । नेपालमा कुल जनसंख्याको झण्डै १० प्रतिशत नागरिक कुनै न कुनै किसिमको अपाङ्गता भएका छन् ।