काठमाण्डौं, १८ मंसिर
राष्ट्रपतिले सहमतिका लागि आह्वान गरेको तीन दिन त्यत्तिकै खेर फालेका दलहरु आजबाट छलफलमा जुट्ने तयारीमा रहेका छन् । सहमतिको सरकार गठनका विषयमा एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसबीच छलफल सुरु भएको छ । सहमतिको सरकार र राजनीतिक गतिरोध अन्त्यका विषयमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काङ्ग्रेसका सभापति सुशील कोइरालाबीच अहिले छलफल भइरहेको छ । कोइराला निवास महाराजगञ्जमा जारी छलफलमा दुईदलले आ–आफ्नै अडानका बिचबाट दिन सक्ने निकासका विषयमा कुराकानी भइरहेको कोइरालाको निजी सचिवालयले जनाएको छ । एकीकृत माओवादी अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेलले अध्यक्ष प्रचण्डले आजबाट सहमतिका लागि औपचारीक, अनौपचारीक छलफल सुरु गरेको बताउनुभयो ।