काठमाडौ, मंसिर २० – अन्तराष्ट्रिय स्वयंसेवक दिवस ‘स्वयंसेवाको उत्सव मनाऔं’ नाराका साथ बुधबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।स्वयंसेवाको सेवाका लागि उनीहरुलाई धन्यवाद दिन र समाजमा उनीहरुको योगदानका लागि जागरुकता बढाउने उद्देश्यले सन् १९८५ देखि विश्वभर स्वयंसेवक दिवस मनाउन थालिएको हो ।नेपालमा आर्थिक वर्ष २०५५/०५६ देखि राष्ट्रिय योजना आयोग अन्तर्गत राष्ट्रिय विकास स्वयंसेवक सेवामार्पmत विभिन्न क्षेत्रमा स्वयंसेवक परिचालन गरिएको छ । यस्तै अन्तराष्ट्रिय संस्था तथा स्वदेशी संघसंस्था अन्तर्गत पनि स्वयंसेवक परिचालित छन् ।दिवसकै अवसरमा बुधबार नवौं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस ‘महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनार्इंदैछ । आर्थिक वर्ष २०४५/०४६ मा स्वास्थ्य मन्त्रालय अन्तर्गत शुरु भएको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रममा अहिले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।मन्त्रालयका अनुसार अहिले ४७ जिल्लामा हरेक वडामा एक जना र २८ जिल्लामा जनसंख्याको आधारमा थप स्वयंसेविका परिचालित गरिएको छ । नेपालमा मातृ तथा शिशु मृत्युदर कम गर्न महिला स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण छ ।परिवार नियोजनका अस्थायी साधनको वितरण, स्थायी परिवार नियोजनको जानकारी तथा सेवा, सुरक्षित मातृत्व, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोग नियन्त्रणका लागि घरेलु उपचार, भिटामिन ए क्याप्सुल, जुकाको औषधी आईरन चक्की, खोप कार्यक्रम लगायतमा महिला स्वास्थ्य स्वयंसेविकाले काम गर्दै आएका छन् ।सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर गरी भत्ता, तालिम, प्रोत्साहनको व्यवस्था गरेपनि स्वयंसेविकाहरुले भने आफ्नो कामको कदर नभएको भन्दै नियमित तलब भत्ता लगायतका सुविधा दिनुपर्ने माग गरेका छन् ।