राम बहादुर धामी
आँबुखैरेनी, १८ मंसिर
मस्र्याङ्गदी जलबिद्युत आयोजनाबाट जिविसलाई प्राप्त रोयल्टी रकम प्रभावित आँबुखैरेनी गाविसलाई दिईने भएको छ । जिल्ला विकास समिती तनहुँको बोर्ड बैठकबाट परित नभएसम्म निर्णय भएको नमानिने भएपनि जिविस र स्थानीय राजनीतिक दलहरु जिविसलाई प्राप्त हुने रोयल्टी रकम आँबुखैरेनी गाविसलाई दिने सहमतीमा पुगेको हो । मस्र्याङ्गदी रोयल्टीको लागि आँबुखैरेनी गाविसका स्थानीयबासीले केही महिना अघि संघर्ष समिती बनाएर गरेको अन्दोलनपछि जिविस र दलहरु रोयल्टी दिने सहमतिमा पुगेको जिविसका योजना अधिकृत गणेश घिमिरेले बताउनुभएको छ । जिविसले आँबुखैरेनी गाविसलाई बार्षिक रुपमा माथिल्ला तटीय क्षेत्रको रुपमा रहेको डुवान तथा जलाशययुक्त क्षेत्रलाई आधार मानेर २.६ प्रतिशत रकम, विद्युत आयोजनाको संरचनाको आधारमा १५ प्रतिशत र सुख्खा क्षेत्र अन्तगर्त ७.५ प्रतिशत रकम दिने सहमति भएको विद्युत रोयल्टी संघर्ष समितीका अध्यक्ष सालिकराम अधिकारीले बताउनुभएको छ । उत्पादनका संरचनाको माद दण्ड अनुसार परियोजनाको सबै काम आँबुखैरेनी गाविसमा मात्र भएकाले १५ प्रतिशत रकम दिने नितीगत निर्यण गरेको हो । यस्तै सुख्खा क्षेत्र अन्तर्गत अन्य ४ गाविसहरु छिपछिपे, छिम्केश्वरी, देउराली र कोटालाई पनि रोयल्टी रकम दिने निर्णय गरेको छ ।