Responsive Ad Slot

latest

नेपाली चलचित्रकर्मीहरू नै भारतीय चलचित्र प्रतिबन्धको विरोधमा I

Tuesday, October 2

/ by Admin BHOLA THAPA
NE


काठमाडौँ, १६ असोज/ नेपालका चलचित्रकर्मी र निर्माताहरू नै नेपालमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने गरी नेकपा–माओवादीले सुरु गरेको आन्दोलनको विपक्षमा उभिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा चलचित्र निर्माता, निर्देशक एवं कलाकार अशोक शर्माले नेपाली चलचित्रको उत्थान कुनै चलचित्रमाथिको प्रतिबन्धभन्दा पनि प्रतिस्पर्धाबाट हुने भन्दै आफू प्रतिबन्ध भन्दा पनि प्रतिस्पर्धाको पक्षमा रहेको बताए ।

साक्षात्कारमा उनले सरकारले कर र नीतिमार्फत नेपाली सिनेमाको संरक्षण गर्नुपर्ने धारणा राख्दै नेकपा–माओवादीको सत्तामा पुग्ने चालबाजी मात्रै भएको दाबी गरे । उनले मानसिक रूपमै नेपाली सांस्कृतिक अतिक्रमणमा परेका वेला ग्लोबलाइजेसनको युगमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाए नेपाली चलचित्रको उत्थान गर्न नसकिने ठोकुवा गरे । उनले भारतलाई सत्तामा उक्लिने भऱ्याङ बनाउँदै आएका राजनीतिक दलको यो भारतको ध्यान आर्कषित गराउन कथित स्वाधिनताको आन्दोलन गरेको आरोप लगाए ।

नेपाल चलचित्र कलाकार संघका सचिव घनश्याम खतिवडाले हिन्दी सिनेमामाथिको प्रतिबन्ध राजनीति अभिष्ट पुरा गर्न माथि मात्रै भएको भन्दै नेपाली चलचित्रको स्तरवृद्धि भए भारतीय चलचित्रहरू कसैले विस्थापित नगरी आफै विस्थापित हुने दाबी गरे । उनले अहिले नेपाली चलचित्रकोलागी आवश्यक पूर्वाधार निर्माण गरेर चलचित्र उद्योगलाई उद्योगको मान्यता दिई विकास गर्नु पर्ने आवश्यकता भएको भन्दै प्रतिस्पर्धा विहीन बनाएर नेपाली चलचित्र उद्योगलाई धरासायी बनाउने षड्यन्त्र भएको आरोप लगाए ।

नेपाल चलचित्र संघका महासचिव प्रदीप उदयले विदेशी चलचित्रमा रोक लगाए नेपाली चलचित्र फस्टाउँछ भन्ने सोच दिवास्वप्न मात्र भएको भन्दै आफूहरू प्रतिबन्धको विरोधमा रहेको स्पष्ट पारे । उनले नेपाली चलचित्रलाई विश्वव्यापीकरण गर्नुपर्ने वेलामा विदेशी चलचित्रलाई नेपालमा रोक लगाएर बजार विस्तार गर्न नसकिने भन्दै उनले अहिलेको समयमा विदेशी चलचित्र रोक्छु भन्नु सूर्यले हत्केला छेक्नु जस्तै भएको बताए । उनले लुट जस्तो राम्रो चलचित्रले हिन्दी भाषाको अग्निपथ चलचित्रलाई विस्थापित गरेको उदाहरण प्रस्तुत गर्दै हाम्रोभन्दा पनि राम्रो चलचित्र बनाए आफैँ विदेशी भाषाको चलचित्र विस्थापित हुने दाबी गरे ।

चलचित्र निर्माता एवं निर्देशक उद्धव पौडेलले राज्यले नीति बनाएर नेपाली सिनेमाको संरक्षण गर्नुपर्ने भन्दै प्रतिबन्ध लगाएर अहिलेको युगमा नेपाली सिनेमाको संरक्षण हुनै नसक्ने ठोकुवा गरे । माओवादीले गृहकार्यविना अदूरदर्शी आन्दोलन घोषणा गरेकोले यसबाट कुनै राजनीतिक अभिष्ट पूरा हुन नसक्ने दाबी गरे ।

महेन्द्र राजमार्गदेखि दक्षिणका सबै हलमा निर्वाध हिन्दी सिनेमा लागिरहेको, तर उत्तरमा लाग्न नदिएकोले माओवादीका यो आन्दोलनले नेपाललाई दुई भागमा बाँडेको बताए । उनले भोलि प्रादेशिक भाषाको कुरा उठे त्यसले नेपाली चलचित्रको भविष्य नै संकटमा पार्ने चेतावनी दिए ।

नायिका ऋचा शर्माले पनि प्रतिबन्ध भन्दा पनि प्रतिस्पर्धाबाट विस्थापन गर्नुपर्ने तर्क गरिन् । उनले हिन्दी सिनेमासँग प्रतिस्पर्धा गर्ने नेपाली चलचित्र बने आफैँ विस्थापित हुने भन्दै प्रतिबन्धको विरोध गरिन् ।

नेपाल निर्माता संघका अध्यक्ष राजकुमार राईले भने वितरक, सरकार र हलबालासँग बारम्बार नेपाली चलचित्रको प्रवद्र्धनका लागि ध्यान आकर्षित गराउँदा गराउँदै पनि बेवस्ता गरेकोले नेकपा–माओवादीको आन्दोलनमा समर्थन जनाए । उनले नेपाली चलचित्रलाई राज्यले आरक्षण दिनुपर्ने भन्दै आफ्नै घरमा पनि आफू असुरक्षित हुने अवस्था ठीक नभएको बताए ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले विदेशी भाषाको चलचित्रमाथिको प्रतिबन्धले नेपाली चलचित्रको स्तर उकास्न मद्दत नगर्ने भन्दै प्रतिबन्ध भन्दा प्रतिस्पर्धाको माध्यमबाट अघि बढे नेपाली चलचित्रको विकास हुने धारणा राखे ।

NEPALBANI
Don't Miss
© all rights reserved
made with by netKUTI