Responsive Ad Slot

latest

भर्खरै थपिएका ताज १५ खबरहरु तनहुँ खबरको एउटै थलोमा पढ्नुहोस् I

Tuesday, October 2

/ by Admin BHOLA THAPA


सङ्खुवासभामा बेपत्ता भएका मध्य दुईको शव भेटियो ।
दीपेन्द्र शाक्य, 
सङ्खुवासभा असोज १६ गते । सङ्खुवासभाको धुपु गाविस ८ ज्यामिरेमा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्य २ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको १० जनाको प्रहरी टोलीले बेपत्ता भएकाहरुको खोजी गर्नेक्रममा प्रताप राई र समला राईको लाश फेला पारेको हो । बेपत्ता अन्य ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । गएराति झरेको पहिरोमा परी ज्यामिरेमा रहेको चक्रबहादुर राईको घर बगेको थियो ।
    यसैबीच भोटीखोलामा आएको बाढीले सङ्खुवासभाको बाह्रबीसेमा गएराति कम्तिमा २१ घर बगाएको छ । भोटीखोलामा आएको बाढी गाउँमा पसेपछि कृषि सेवाकेन्द्र र पशुसेवा केन्द्रको भवन पनि जोखिममा परेका छन् । कार्यालयमा रहेका कागजपत्र सबै बगेको पशुसेवा कार्यालयका प्रमुख पुष्पबहादुर बुढाथोकीले बताउनुभयो । घटनास्थल सदरमुकाम खाँदबारीबाट ५ घण्टाको दुरीमा पर्ने भएका कारण घटनाको बारेमा थप विवरण आइसकेको छैन ।



सरकारले आजदेखि सुपथ मुल्यमा बजार सञ्चालन गर्दै ।
काठमान्डौ असोज १६ गते । सरकारले नजिकिँदै गरेको चाड पर्वलाई ध्यानमा राखेर आजदेखि सुपथ मुल्यमा बजार सञ्चालन गर्ने भएको छ । दिउँसो एक कार्यक्रमकाबीच सुपथ मुल्य बजारको उद्घाटन गर्ने तयारी भएको छ सञ्चालन गरिएको बजार आगामी मङ्सिर ४ गतेसम्म जारी रहने भएको छ ।
 नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ र नेपाल खाद्य संस्थानमार्फत उपत्यकाभित्र सात स्थानमा र उपत्यका बाहिर ४७ स्थानमा बजार सञ्चालन गर्न लागिएको हो । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद विडारीका अनुसार उपत्यकाको कालीमाटी, कोटेश्वर, नेपाल खाद्य संस्थान, टेकु, रामशाहपथ, ललितपुरको पुल्चोक र भक्तपुर बजारमा सुपथ मुल्यका सामग्री राखिनेछ । उपत्यका बाहिर साल्ट ट्रेडिङका २१, खाद्य संस्थानका २२ र नेसनल ट्रेडिङका चार स्थानमा सुपथ बजार सञ्चालन गर्न लागिएको छ ।


नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीको सम्मेलन ।
काठमान्डौ असोज १६ गते । नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीको सम्मेलन आजदेखि राजधानी काडमान्डौंमा सुरु हुँदै छ । मध्यान्ह् साढे १२ बजेपछि कीर्तिपुरमा एक कार्यक्रमकाबीच नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले सम्मेलनको उद्घाटन गर्ने तयारी भएको क्रान्तिकारीले जनाएको छ । सम्मेलनमा ६४ जिल्लाका १ हजार ३ सय प्रतिनिधि सहभागी हुने क्रान्तिकारीका संयोजक शरद रसाइलीले जानकारी दिनुभयो । रसाइलीका अनुसार सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुका साथै सहिद, बेपत्ता परिवारका विद्यार्थीहरुको हितको बारेमा पनि छलफल गर्ने छ । अक्षयकोषको स्थापना गरी जनयुद्वका सहिद, घाइते, बेपत्ता, अपाङ्ग, गरिब परिवारका विद्यार्थीलाई पठनपाठनको व्यवस्था गर्ने बारेमा पनि सम्म्ेलनमा छलफल हुने रसाइलीले बताउनुभयो । एकीकृत माओवादी निकट अखिल (क्रान्तिकारी)बाट छुट्टिए पनि रसाइली संयोजक रहेको क्रान्तिकारीले यो १९औं राष्ट्रिय सम्मेलन भएको दावी गरेको छ ।


बहिर्गगमित लडाकुहरुको बन्दका कारण जनजीवन प्रभावित ।
दाङ असोज १६ गते ।अनमिनको प्रमाणिकरणको समयमा बहिर्गमित माओवादीका लडाकुहरुले आह्वान गरेको बन्दका कारण राप्ती अञ्चलका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । आफूहरुमाथि लगाइएको अयोग्यको बिल्ला खारेज लगाएतका पाँच बुँदे माग राखेर बहिर्गमित जनमुक्ती सेना संघर्ष समितिले राप्ती अञ्चल बन्दको आह्वान गरेको जनाएको छ । बिभिन्न बहानामा जेलमा परेका पूर्व लडाकुहरुको बिनाशर्त रिहाई, स्वेच्छिक अवकास रोजेका जनमुक्ती सेनालाई सरह आर्थीक प्याकेज दिनुपर्ने, सयुंक्त राष्ट्र सङ्घद्धारा शान्तिकोषमा आएको रकमको सत्यतथ्य बिबरण सार्वजनिक गर्नुपर्ने र घाइते, अपाङगलाई बिषेश प्राथमिकताका सेवासुविधा दिनुपर्ने माग बहिर्गमित लडाकुहरुले अघि सारेका छन् ।
       पटकपटक आफ्ना मागहरु माउ पार्टी, नेतृत्वपङ्ति र सरकारलाई सुनाए पनि माग पूरा गराउने सम्भावना नदेखिएपछि बन्द आह्वान गर्नुपरेको मध्यपश्चिमाञ्चल संघर्ष समितिका अर्जुन बुढाथोकिले जानकारी दिनुभयो । बन्दका कारण पाँच वटै जिल्लाका बजार, बिद्यालय, कलकारखाना तथा यातायात सेवा ठप्प रहेको छ । बन्दकर्ताहरुले एम्बुलेन्स, दमकल, शव बहान, पत्रकार, मानव अधिकारकर्मीका सवारीलाई भने निर्बाधरुपमा चल्न दिएका छन् ।


गाडी पल्टीयो, १० घाइते, १ को मृत्यु ।
प्रकाश सुन्दाश,
 काभ्रेपलाञ्चोक असोज १६ गते । काभ्रेको खनालथोक – १ बाट दूधलिएर बनेपातर्फ आइरहेको बा ९ च ५३९९ नम्बरको बोलेरो आज विहान विपी राजमार्गको भकुण्डे स्थित नौबिसेमा पल्टीदा १४ वर्षका बालक बिशाल लामाको मृत्यु भएको छ । अन्य घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
      चालकले सन्तुलन गुमाउदाँ दुर्घटना भएको प्रहरी चौकी भकुण्डेका प्रहरी सहायक निरीक्षक चेत बहादुर कार्कीले जानकारी दिनुभयो । घाइते हुनेमा विद्यालय हिडेका विद्यार्थीहरु समेत रहेका छन् । चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



दार्चुलाको लटिनाथमा ८ लाख बराबरको चोरी ।
नरेन्द्र कार्की,
 दार्चुला असोज १६ गते । दार्चुला मार्माको लटिनाथ बजारमा गएराति चोरी भएको छ । लटिनाथ बजारमा रहेको लटिनाथ सपिङ सेन्टर एण्ड अपि शुर्मा सप्लार्यसमा चोरी भएको हो । पसलको छतबाट सेलेट निकाली भित्र पसेर चोरी भएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ । व्यापारी धर्मसिह विष्टको पसलमा चोरी हुँदा १ लाख ५० हजार नगद तथा अन्य सामग्री चोरी भएको छ ।
         प्रहरीलाई दिएको निवेदन तथा घट्ना रिपोर्ट अनुसार करिब ८ लाख बराबरको नगद तथा जिन्सी सामान चोरी भएको छ । चोरले पसलको छतबाट सामान लिने क्रममा केही रुपैयाँ छतको बाटोमा खसेको भेट्टिएको छ । चोरीको घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


विपी राजमार्गमा यातायात ठप्प ।
प्रकाश सुन्दास,
काभ्रेपलाञ्चोक असोज १६ गते ।  उचित क्षतिपूर्तिको माग राख्दै मृतकका आफन्तहरुले आज पनि विपी राजमार्गमा यातायातका साधन चल्न दिएका छैनन् । आफ्ना विद्यार्थीको मृत्यु भएपछि आक्रोशित बनेका अभिभावक, शिक्षक र विद्यार्थीहरुको ठूलो संख्यालले राजमार्गको मंगलटार सडक खण्ड अवरुद्ध पारेका हुन् ।
           नेपालथोकबाट बनेपा तर्फ आइरहेको ना १ ख ९३६७ नम्बरको यात्रुबहाक बसको ठक्करबाट मंगल जनविजय उच्च मावि मंगलटारको कक्षा १० मा पढ्दै गरेका भीमखोरी गाविसका १५ बर्षिय सञ्जिव तामाङको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्ति बाटोमा मृत्युभएको थियो । राजमार्ग अवरुद्ध बनेपछि धुलिखेल भएर सिन्धुली, बर्दिबास लगायत तराईका जिल्लाहरु जाने यात्रुहरु समस्यामा परेका छन् ।
 

 
वाढीपछि सङक्रमण फैलियो ।
तपेन्द्र कुँवर ,
 कैलाली असोज १६ गते । कैलालीको जोशीपुर गाविसमा वाढीपछि सङक्रमण फैलिएको छ । उपस्वास्थ्य चौकी जोशीपुरका अनुसार दैनिक २ सयदेखि २ सय ५० जना विरामी उपचारका लागि आउने गरेका छन् ।
    उपस्वास्थ्य चौकीमा भाईरल ज्वरो, झाडापखाला,मलेरियाका विरामीहरु उपचारका लागि आउने गरेका छन् । अहिलेको लागि औषधी भए पनि जनस्वास्थ्य कार्यालयले कैलालीले थप औषधी ढुवानी नगरे औषधी अभाव  हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

२ महिना देखि अवरुद्ध टलिफोन सुचारु ।
हुम्ला असोज १६ गते । २ महिनादेखि वन्द भएका माथिल्लो हुम्लाका गाउँमा वितरण गरिएका सिडिएमए  टेलिफोन लाइन आजदेखि सञ्चालनमा आएका छन् । करिब २ महिनादेखि अवरुद्ध भएको टेलिफोन नहुदा स्थानियवासी सम्पर्कविहीन रहदै आएका थिए । दुरसञ्चार कर्यालय हुम्लाले भिस्याट मेसिन जडान गरेपछि सेवा सञ्चालनमा आएको टेलिकम हुम्लाका कार्यलय प्रमुख तुल्सीप्रसाद लुइटेलले जानकारी दिनुभयो । मदना गाविसमा रहेको नमस्ते मोबाइलको टावर वनाउनका लागि पनि प्रयास भइरहेको टेलिकम हुम्लाले जनाएको छ ।


कैलाश दर्शन मार्ग अन्तरगतको ९१ किलो मिटर बाटो निर्माण ।।
हुम्ला असोज १६ गते । हुम्लाको लिमी लाप्चा सिमकोट सडक खण्डको ९१ किलो मिटर बाटोको निर्माण कार्य सम्पन्न भएको छ । सिमकोटदेखि चीनको स्वशासित तिब्बत जोड्ने कैलास दर्शन मार्ग अन्तरर्गत ९१ किलोमिटर मोटर बाटो निर्माण कार्य सम्पन्न भएको धुलिखेल निर्माण सेवाका प्रतिनिधि मंगल लामाले जानकारी दिनुभयो ।
         उहाँका अनुसार अहिले कैलास दर्शन मार्ग अन्तर्गत ७५ किलो मिटर उत्तर दक्षिण मुख्य सडक निर्माण कार्य भएको र अन्य सहायक मार्गको समेत निर्माण भएको छ । निर्माण भएको ९१ किलोमिटर सडकमा गाडी चल्न थालेपछि स्थानीय वासिन्दालाई आवतजावत तथा सामान ओसार पसारमा समेत सजीलो भएको छ ।



मदिरा बरामद ।
सीता डोटेल,
  पाल्पा असोज १६ गते । पाल्पा जिल्लाको दर्छामा प्रहरीले ९० टिर घरेलु मदिरा बरामद गरेको छ । अस्थायी प्रहरी चौकी दर्छा केलादीबाट गस्तीमा गएको प्रहरी टोलीले बेच्न ल्याउदै गरेको रक्सी आज बिहानै बरामद गरेको हो । पाल्पा गल्धाको ढुङ्गानाबेशीबाट केलादी बेच्नका लागि ल्याउदै गरेको ९० लिटर अबैध घरेलु मदिरा जफत गरी प्रहरीले नष्ट गरेको छ । गस्तीको क्रममा दर्छा कीर्तिपुरमा ५ जना महिलाले मदिरा बेच्नको लागि ल्याउँदै गर्दा बरामद गरिएको प्रहरीले जनाएको छ । अनुमति बिना नै मदिरा बिक्री गर्नेहरुविरुद्व चलाइएको अभियान अन्तर्गत उनीहरुको मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक चुराबहादुर कार्कीले बताउनुभयो ।



कालोबजारी गर्ने व्यापारीलाई प्रशासनले बोलायो ।
रामकुमार शाही ,
जाजरकोट असोज १६ गते । जाजरकोट सदरमुकाम खलंगाका ब्यापारीहरुले मूल्यसुची नछाँसेर मनोमानी रुपमा
मुल्य बढाईरहेको पाइएको छ । बजार अनुगमन जिल्ला समितिले सदरमुकाममा गरेको अनुगमन तथा निरीक्षणको क्रममा यस्तो रहस्य फेला परेको हो । सदुमुकामका ठाँटी, गैरीखाली, थाप्ले लगाएतका बजारहरुमा रहेका दुई दर्जन बढी पसल तथा होेटलहरुमा गरिएको निरीक्षणको क्रममा अधिकांश व्यापारीहरुले मुल्यसूची नटाँसेर मनोमानी रुपमा मुल्य निर्धारण गर्ने गरेको, नापतौल घटबढ गराएको र म्याद नाघेका अखाद्य बस्तुको विक्रीवितरण गरिरहेको भेटिएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । अनुगमनको क्रममा पसल दर्ता नगराएका, ईजाजत नविकरण नगराएका, पान नम्वर नलिएका ब्यापारीलाई एक हप्ता भित्र नियम अनुसारको प्रक्रियामा गएर मात्र पसल चलाउन निर्देशन दिएको शर्माले बताउनुभयो ।
    कालोबजारी गर्ने एक दर्जन ब्यापारीलाई हिजो नै आवश्यक कारवाहीको लागि प्रशासन कार्यालयमा बोलाएर सोधपुछ गरिएको सहायक प्रजिअ शर्माले बताउनुभयो ।
 
 
बागलुङमा व्यवसायी दाताहरुलाई कर शिक्षा ।
राम सुवेदी,  बुर्तिबाङ, बागलुङ असोज १६ गते । बागलुङ उद्योग वाणिज्य सङ्घ तथा आन्तरिक राजश्व कार्यालय पोखराको आयोजनामा बागलुङमा व्यवसायीहरुलाई कर शिक्षाको बारेमा तालिम दिइएको छ । सरकारले सोचे अनुसार प्रगति हुन नसकेकोले व्यवसायीलाई करदाता शिक्षा दिइएको हो ।
  सरकारले १ वर्षमा २० लाख भन्दा बढी रकमको कारोबार गर्ने व्यवसायीलाई अनिवार्य रुपमा मुल्य अभिबृद्धि करमा लैजाने नीति ल्याए पनि सामानको भ्याट मुल्य कम र बिक्री मुल्य बढी हुने गरेको कारण आफूहरुलाई समस्या भएको व्यापारीले गुनासो गरेका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बसन्तकुमार श्रेष्ठले अहिले कर सम्बन्धी देखिएका समस्यालाई कर शिक्षा कार्यक्रमले थोरै भए पनि समाधानको लागि सहयोग गर्ने बताउनुभयो ।


स्याङ्गजाको रत्नपुर गाबिस ३६ औं खुला दिसामुक्त गाबिस ।
सीता डोटेल, रामपुर, पाल्पा  असोज १६ गते । स्याङ्गजा जिल्लाको रत्नपुर गाबिसलाई जिल्लाको ३६ औं खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । जिल्ला विकास समिति र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत जिल्लाका सबै गाबिसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम अन्तर्गत रत्नपुर गाबिसलाई खुला दिसामुक्त गाबिस घोषणा गरिएको हो ।
         गाबिसका ८ सय ५७ घरधुरी सबैमा चर्पी बनाइएपछि एक कार्यक्रममा बीच स्थानिय बिकास अधिकारी नरहरि बरालबाट खुला दिसा मुक्त गाविस घोषणा गरिएको हो । गबिसका घरधुरी मध्ये १ सय ८५ घरमा पक्की र बाँकी ६ सय ७२ घरमा कच्ची चर्पी बनाइएको गाबिस सचिब उदयराज देबकोटाले बताउनुभयो ।
 

 खेलकुद खबर

आज हिमालयन शेर्पा क्लब र रानीपोखरी कर्नर टिमबीच प्रतिस्पर्धा हुने ।।
काठमान्डौ असोज १६ गते । राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगितअन्तर्गत आज हिमालयन शेर्पा क्लब र रानीपोखरी कर्नर टिमबीच प्रतिस्पर्धा हुने भएको छ । खेल दिउँसो ३ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ । प्रतियोगिताको हिजो भएको लक्ष्मी हुण्डाई मनामस्र्याङदी क्लब र न्युरोड टिम(एनआरटी) क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको थियो । योसँगै समूह ‘ख’ बाट ७ अङ्कका साथ लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब समूह विजेता भएको छ । त्रिभुवन आर्मी क्लब ६ अङ्कका साथ समूह ‘ख’ बाट उपविजेता भै क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । समाचार श्रोत ः सिआईएन

Don't Miss
© all rights reserved
made with by netKUTI