Responsive Ad Slot

latest

युएईमा श्रमका उजुरी अब नेपाली भाषामै

Wednesday, October 3

/ by Unknown

काठमाडौं, असोज १७ – युएईमा कार्यरत नेपाली कामदारले श्रमसँग सम्बन्धित उजुरी अब नेपाली भाषामा नै गर्न सक्ने भएका छन् । युएईको श्रम मन्त्रालयले कल सेन्टरमा त्यहाँ रहेका मुख्य आप्रवासी कामदारका विभिन्न मातृभाषाका प्रतिनिधि खटाएपछि उजुरी गर्दा हुने गरेको भाषाको समस्या हट्ने भएको छ ।
मन्त्रालयले मुख्य आप्रवासी कामदारले बोल्ने १२ भाषाका प्रतिनिधि कल सेन्टरमा खटाएको गल्फ न्युज डटकमले जनाएको छ । ‘अरबिक, अंग्रेजी, उर्दू र हिन्दी राम्रोसँग बोल्न नसक्ने कामदारले सजिलै सञ्चार गर्न सकुन भनेर यो प्रयास थालिएको हो’, मन्त्रालयको सञ्चार विभागका निर्देशक मोहम्मद बिन दुखैनले भन्नुभयो ।
मन्त्रालयले नेपाली, चिनियाँ, रुसी, फ्रेन्च, फिलिपिनो, बंगाली, पाकिस्तानी, फारसी, सोमाली लगायतका १२ भाषाका प्रतिनिधि कल सेन्टरमा खटाएको छ । मन्त्रालयको टोल फ्रि नम्बर (८००६६५) को मुख्य सूचिमा अरबिक, अंग्रेजी र उर्दु भाषा मात्र राखिएका कारण भाषा नबुझेर कामदारहरुले आफ्ना समस्या राम्रोसँग भन्न नसकेपछि अन्य भाषा पनि थपिएको मन्त्रालयले जनाएको छ ।
सञ्चार विभागका निर्देशक दुखैनका अनुसार कामदारले अरबिक, अंग्रेजी र उर्दु भाषा नबुझेमा आफुले बुझ्ने अन्य भाषा पनि छान्न सक्छन् । दुखैनका अनुसार कल सेन्टरका प्रतिनिधिले उक्त कल सम्बन्धित प्रतिनिधिसम्म ट्रान्सफर गरेपछि उनीहरुले आफ्नै भाषा बोल्ने प्रतिनिधिसँग कुरा गर्न पाउनेछन् ।
‘यि १२ भाषा बोल्नेहरुले अब आफ्नै प्रतिनिधिसँग कुरा गर्न पाउनेछन्’, उहाँले भन्नुभयो, ‘उनीहरुले आफ्नो उजुरीको जवाफ पाँच दिनभित्र प्राप्त गर्नेछन् ।’
आप्रवासी कामदारले बोल्ने विभिन्न भाषाका प्रतिनिधि कल सेन्टरमा खटाउने मन्त्रालयको निर्णयले युएईमा रहेका दशौँ लाख आप्रवासी कामदार लाभान्वित भएको समाचारमा उल्लेख छ ।
तपाईँ युएईमा हुनुहुन्छ ? तपाईँले त्यहाँको श्रम मन्त्रालयले दिएको नेपाली भाषामै उजुरी गर्न सकिने सुविधा लिनुभएको छ ? यसले के कस्तो सहजता ल्याएको छ ? कमेन्ट गर्नुहोस् 
Don't Miss
© all rights reserved
made with by netKUTI