Responsive Ad Slot

latest

दशैंको बेला नागढुंगामा जामले सास्ती,सडक मर्मत गर्न व्यवसायीको माग

Thursday, October 4

/ by Unknown


१७ असोज, काठमाडौं । राजधानीलाई बाहिरी जिल्लाहरुसँग जोड्ने मुख्य मार्ग त्रिभुवन राजपथको नागढुंगा सडकमा सधै जस्तो जाम हुन्छ । अहिले दशैंको बेला गाडीको ओहोरदोहोर बढी हुने समयमा जामले झन् बढी हैरान पारेको छ । नागढुंगा हुँदै राजधानी प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने यात्रु नागढुंगामा झण्डै डेढ घण्टा पर्खन बाध्य हुने गरेका छन् । बढी भार बोकेका ठूला सवारी साधन उकालोमा बिग्रने र ठाउँठाउँमा पहिरो खसेका कारण जामको समस्या बढेको नागढुंगा प्रहरीले जनाएको छ ।
न्ागढुंगा नजिकको पिप्लामोडदेखि तल झ्याप्ले खोलासम्म तीन ठाउँमा गाडी बिग्रेका छन् । त्यसबाहेक दुई ठाउँमा पहिरोले सडक एकतर्फी भएको छ । साँघुरो सडकमा ठूला सवारी साधन बिग्रँदा अरु गाडी सञ्चालनमै समस्या हुने गरेको प्रहरीको भनाई छ । अहिले नागढुंगा आसपासका तीनचार ठाउँमा एकतर्फी रुपमा मात्र गाडी सञ्चालन हुने गरेको छ । जसका कारण समयको हरहिसाब गरेर यतिबजे ठाउँमा पुग्छु भनेर निस्केका यात्रु नागढुंगामै अलपत्र पर्ने गरेका छन् ।
मर्मतसम्भार र व्यवस्थान देखाउने दाँत मात्र
दशैंको बेला गाडी धेरै ओहोरदोहोर हुने हुँदा सडक बेलैमा मर्मत गर्न यातायात व्यवसायीहरुले आग्रह गर्दै आएका छन् । सरकारले पनि केही दिनदेखि नागढुंगा आसपासमा बिग्रेका र पहिरो गएका सडक मर्मतको काम गर्न थालेको छ । दिउँसोको बेला सवारी आवागमनमा अवरोध पुग्ने भएकाले रातिको समयमा मर्मत गर्ने गरिएको नागढुंगा प्रहरीले जनाएको छ । तर सडक हेर्दा मर्मत भएजस्तै लाग्दैन । खाल्डाखुल्डी र पहिरोले पुरिएका ठाउँ उस्तै छन् । दशैंअघि सडक मर्मत होला भन्ने कमैलाई विश्वास छ ।
अर्को कुरा सडक विभागले क्षमताभन्दा बढी भार बोकेका सवारी साधनलाई चल्न नदिने नियम बनाएको छ । त्यसको लागि सडकका ठाउँठाउँमा गाडीको भार नाप्ने यन्त्र पनि छन् । तर यो नियम पनि कसैले पालना गरेका छैनन् । बढी भार बोकेका गाडी तेर्सोमा त सजिलै गुड्छन् । जब नागढुंगाको उकालोमा पुग्छन्, बढी भारी बोकेर हिँड्न नसकेको मान्छे झैं ठस्ठस् कन्दै बीच सडकमै घ्याच्चै बस्छन् । त्यहीँ बिग्रेको गाडी बनाउन एक दुई दिनमा सकिन्न । जसका कारण अर गाडी आवागमनमा अवरोध पुग्ने गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI