असोज १७ – चिनियाँ कम्पनी राल्स कर्पले वायु उर्जा परियोजना खरिद सम्बन्धि सम्झौता रोकेको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा विरुद्ध मुद्धा दायर गरेको छ । राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने भन्दै राष्ट्रपति ओबामाले गएको हप्ता सम्झौता रद्ध गर्ने आदेश दिनुभएको थियो ।
कम्पनीले अदालतमा मुद्धा दायर गर्दै राष्ट्रपतिले अवैध र अनधिकृत व्यवहार देखाएको आरोप लगाएको छ । राष्ट्रपतिको कार्यालय कानूनको पालना गर्न असफल रहेको र अधिकार क्षेत्र भन्दा बाहिर गएर निर्णय गरेको पनि अदालतमा दायर मुद्धामा उल्लेख गरेको बिबिसीले जनाएको छ ।
राष्ट्रपतिको कार्यालय ह्वाईटहाउसले राल्स कर्पोरेशनले देशको सुरक्षा व्यवस्थामा खतरा उत्पन्न हुनेगरी काम गर्न सक्ने सम्भावना देखिएको बताएपनि कम्पनीले भने यसलाई पुष्टि गर्ने प्रमाण राष्ट्रपतिले दिन नसकेको बताएको छ ।
राल्स कर्पले ओरेगन राज्यमा सेनाको आधार क्षेत्र भित्र पर्ने वायु उर्जा सम्बन्धि परियोजना खरिद गर्ने सम्झौता गरेको थियो । –एजेन्सीको सहयोगमा