मनाङ, असोज १७ – हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामेमा पहिलोपटक मोटर पुगेको छ । नेपाली सेनाको सडक निर्माण कार्यगणले ग १ ज २५२ नम्बरको जीप पहिलोपटक चामे पुर्याएको हो ।
नेपाली सेनाले निर्माण गरिरहेको वेसीशहर–चामे सडकमा परीक्षणका लागि लमजुङ सदरमुकाम वेसीशहरबाट गएको जीप हिजो बेलुकी चामे पुर्याएको हो । सडक निर्माण कार्यगणका प्रमुख ईन्जिनियर ईन्दिबर गुरुङले वेसीशहरबाट गएको जीप मनाङ सदरमुकाम चामेको नमस्ते गेटसम्म पुगेको बताउनुभयो । १९ बर्षदेखि निर्माण हुँदै गरेको वेसीशहर–चामे सडक अन्तरगत मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि स्थानीयवासिन्दा निकै खुसी भएका छन् ।
चामेसम्म मोटर पुगेपनि सुरक्षाको कारण देखाउँदै लमजुङको ताघ्रिङमा रहेको च्याम्चेबाट चामे जानका लागि सार्वजनिक गाडी भने चल्न दिइएको छैन । नेपाली सेनाले सडक एक हप्तापछि उद्घाटन गर्ने जनाएको छ ।
१९ बर्ष अघि २०५१ सालमा सडक विभागले शुरु गरेको यो सडक २०५७ सालदेखि नेपाली सेनाले निर्माण गर्दे आएको छ । सडक विभागले १७ बर्ष अघि गरेको प्रारम्भिक सर्भेमा मनाङलाई सडक सञ्जालले जोड्न १ अर्ब ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरेकोमा हालसम्म ७६ करोड रुपैँया मात्र खर्च भएको नेपाली सेनाले जनाएको छ ।