अधिकृतमा ७१ लडाकु उत्तीर्ण
काठमाडौ, आश्विन १८ - नेपाली सेनामा अधिकृत तहमा समायोजनका लागि भर्ना, छनोट प्रक्रियामा सहभागीमध्ये ७१ पूर्वलडाकु गुणमापन परीक्षामा उत्तीर्ण भएका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार परीक्षामा ४ महिलासहित ७५ सहभागी थिए । सहभागी सबै महिला उत्तीर्ण भएका छन् । एमाओवादी महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेका पूर्वडिभिजन कमान्डर यामबहादुर अधिकारी, पूर्वभाइस कमान्डरहरू वासुदेव घिमिरे, वीरेन्द्र बुढा, पदमबहादुर तामाङसहित सबै उच्च तहमा रहेका लडाकुहरू उत्तीर्ण भएका छन् । गुणमापन परीक्षामा उत्तीर्णको स्वास्थ्य परीक्षण सुरु भइसकेको छ । स्वास्थ्य परीक्षणपछि शुक्रबार उनीहरूको अन्तर्वार्ता हुने छ । त्यसपछि उनीहरू घर बिदामा जानेछन् । अधिकृत तहको परीक्षा उत्तीर्ण गर्न नसकेका काभ्रेका कमल मोक्तान, सुनसरीका लक्ष्मीप्रसाद बास्तोला, रुकुमका कर्णबहादुर पुन र दैलेखका जगबहादुर बलामी छन् । सेनाले समायोजनमै जान चाहे उनीहरूलाई पनि कनिष्ठ अधिकृत तहमा भर्ना गर्न सकिने आश्वासन दिएको लडाकुसम्बद्ध स्रोतले बतायो । अधिकृतमुनिको परीक्षा उत्तीर्ण गरेका १ हजार ३ सय पूर्वलडाकुलाई सेनाले विभिन्न सातवटा तालिम केन्द्र तोकी मंसिर ६ गते उपस्थित हुन भनेको छ ।
समायोजनमा जाने पूर्वलडाकुको संख्या निकै कम भएकाले यसअघि गठन गर्ने भनिएको महानिर्देशनालय नबन्ने देखिएको छ । त्यसैगरी भर्ना, छनोटमा उत्तीर्ण लडाकुलाई तालिमा पठाउनुपूर्व सैनिक ऐनमा संशोधन गरी 'समायोजन' को प्रावधान राख्नुपर्ने हुन्छ ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com