१७ असोज, काठमाडौं । युएईमा बुधबारबाट सुरू भएको एसीसी ट्रफी एलिट कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक युएईलाई ४ विकेटले पराजित गरेको छ । एक दिवसीय क्रिकेटमा नेपालले पहिलो पटक युएईलाई पराजित गरेको हो । यसअघि भएको छ भेटमा नेपालले हार व्यहोरेको थियो ।
युएईले प्रस्तुत गरेको १ सय ३४ रनको विजयी लक्ष्य नेपालले ४५ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६३ रन बनाए । ११ रन जोड्दा ३ विकेट गुमाइसकेको नेपालको पारी मण्डलले सरद भेसवाकर र प्रदीप ऐरीसँग मिलेर उकासेका थिए । उनले भेसवाकरसँग ३७ र ऐरीसँग ४६ रनको साझेदारी गरेका थिए । ऐरी व्यक्तिगत १७ र भेसवाकर १६ रनमा आउट भए । नेपालका लागि पृथु बास्कोटाले १५ रन जोडे भने शक्ति गौचन ८ रनमा अविजित रहे ।
नेपालको सुरुवात भने निकै खराब थियो । २ रन जोड्दा ओपनर सुभास खकुरेललाई व्यत्तिगत १ रनमा गुमाएको नेपालले थप ५ रन जोड्दा ज्ञानेन्द्र मल्ललाई पनि गुमाएको थियो । मल्ल व्यक्तिगत ४ रनमा आउट भए । स्कोर बोर्डमा ११ रन हुँदा कप्तान पारस खड्का व्यक्तिगत ४ रनमा आउट भएपछि नेपाल दबावमा आएको थियो ।
यसअघि सारजहाँ स्टेडियममा टस जितेर पहिले व्याटिङ थालेको घरेलु टोली युएईले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रन बनायो ।
उसलाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचनले ८ दशमलव ५ ओभरमा १ मेडन राख्दै ३२ रन दिएर ५ विकेट लिए भने बसन्त रेग्मीले ६ ओभरमा १ मेडर राख्दै १३ रन दिएर ३ विकेट लिए । यस्तै अमृत भट्टराई र कप्तान पारस खड्काले समान १-१ विकेट लिए ।
समूह बीमा रहेको नेपालले अब शनिबार कुवेतसँग खेल्नेछ ।