रामबहादुर धामी, आँबुखैरेनी, तनहुँ
तनहुँका विभिन्न टोलमा लगाईएको सुन्तलाका बोटहरु यति बेला मर्न थालेका छन् । सुन्तलाको लागि पकेट क्षेत्र मानिएको आँबुखैरेनी–२, स्थित समस्तीपुर, डुम्रीडाँडा, गिरानचौर, भगेरीलगायतका टोलमा लगाईएको सुन्तलाका बोटहरु मर्न थालेका हुन् । यो ठाउँमा लगाइएको सुन्तलाको बोटमा पात झर्ने, टुप्पो सिग्रो हुने, पहिले पात हुने लक्षण देखिएपछि किसानहरु चिन्तित बनेका छन् । गएको वर्ष डेढ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको चारवटा टोलमा यो वर्ष जम्मा ३० लाख मूल्य बराबरको सुन्तला बिक्री भएको आँबुखैरेनी–२, समस्तीपुरका किसान लिलाबहादुर खनालले बताउनुभयो । सुन्तलामा विभिन्न किसिमका रोगहरु देखापरेपछि किसानहरुले सुन्तला खेती गर्न प्रायजसो किसानहरुले छाडेको उहाँले जानकारी दिनुभयो । सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएको करिब ६ ,७ हेक्टर क्षेत्रफलमा एकाएक सुन्तलाको बोट मर्न थालेपछि सुन्तला खेती गर्न छाडेर तरकारी खेती तर्फ किसानहरु लागेका छन् । सुन्तला विशेषज्ञ उक्त स्थानमा अनुगमनका लागि आए पछि तिनीहरुले केही गर्न नसकेको सुन्तला किसानहरुले गुनासो गरेका छन् ।