Responsive Ad Slot

latest

देशमा के के भएको छ त आजका ताजा १० खबरहरु तनहुँ खबरको एउटै थलोमा पढ्नुहोस् I

Wednesday, August 15

/ by Admin BHOLA THAPA
br />
आज सत्तारुढ गठबन्धनको मोर्चा घोषणा, मोर्चाको संयोजक एकीकृत माओवादी अध्यक्ष प्रचण्ड ।
काठमान्डौ साउन ३१ गते । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सत्तारुढ गठबन्धनको नयाँ मोर्चा घोषणा भएको छ । राजधानीको लाजिम्पाटमा रहेको होटेल ¥याडीसनमा पत्रकार सम्मेलन गरी माओवादी अध्यक्ष प्रचण्डले मोर्चा गठनको औपचारिक घोषणा गर्नुभएको हो ।
प्रचण्डले अहिलेकै समयमा कांगे्रस, एमालेलगायतसँग राजनीतिक सहमति असंभव प्राय भएकाले मोर्चा गठनको आवश्यकता परेको बताउनुभयो । उहाँले यो मोर्चाले सबैको भावना समेट्ने गरी काम गर्ने दाबी पनि गर्नुभयो ।संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा नाम दिइएको मोर्चा संघीयता पक्षधरहरुको भएको मोर्चाको दाबी छ । सत्ता बाहिरका समेत गरी करिब २ दर्जन दल सहभागी रहेको र सबै दलका एक एकजना प्रतिनिधि रहने जनाइएको छ ।

दलहरूबीच सहमतिको वातावरण बनाउन र राजनीतिक गतिरोध अन्त्यका लागि मोर्चा गठनगरिएको सत्तारुढ दलहरूको दाबी छ । केही दिन बसेको सत्तारूढ गठबन्धनसहितका दलहरूको बैठकले पहिचानसहितको सङ्घीयता पक्षधरहरूको सहभागिता संयुक्त मोर्चा गठन गर्ने सहमति गरेको थियो ।।



देउवा पक्ष आज सामुहिक राजीनामा दिंदै ।
काठमान्डौ साउन ३१ गते । पार्टीको विभाग गठन र जिम्मेवारी हेरफेरमा पार्टी सभापतिले मनोमानी गरेको आरोप लगाउँदै काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय सदस्यहरूले केन्द्रीय विभाग र अन्चल संयोजकबाट आज सामुहिक राजीनामा दिंदैछन् । उनीहरूले अहिले केहीबेरमा पार्टी कार्यालय सानेपामा सभापति सुशील कोइरालालाई भेटेर राजीनामा दिने भएका छन् ।
हिजो र अस्ति देउवा निवास बुढानीलकण्ठमा बसेको असन्तुष्टहरूको भेलाले केन्द्रीय समिति बैठक अघि नै राजीनामा बुझाउने निर्णय गरेको थियो ।  असन्तुष्ट नेताहरूले पार्टीको विधानअनुसार पार्टी सभापतिले कुनै पनि निर्णय लिँदा समकक्षी तथा केन्द्रीय सदस्यहरूको परामर्श र छलफलबाट गर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि पार्टी सभापतिको एकलौटी निर्णय मान्य नहुने भन्दै सामूहिक राजीनामा बुझाउने निर्णय गरेका हुन् ।
 काङ्ग्रेस केन्द्रीय समितिको बैठक भोलिदेखि सुरु हुँदैछ । सभापति सुशील कोइरालाले गठन गरेको ४२ विभागमा १३ प्रमुख र ६ अञ्चल संयोजक देउवा पक्षका छन् । विभिन्न १२ वटा विभाग थप गरी काङ्ग्रेस सभापति कोइरालाले महाधिवेशन भएको दुई वर्षपछि प्रमुखहरू मनोनित गर्नुभएको थियो ।

ग्यास व्यवसायी र सरकारबीच नौबुँदे सहमति, आन्दोलन फिर्ता ।
काठमान्डौ साउन ३१ गते । सरकारले व्यवसायीद्वारा अघि सारिएको ग्यासमा सिन्डिकेट र कार्टेलिङको माग कुनै हालतमा मान्न तयार नभएपछि अन्ततः नौबुँदे सहमतिमा हस्ताक्षर गर्न व्यवसायी बाध्य भएका छन् । गएराती अबेरसम्म भएको वार्तामा सरकारले मुनाफा र कमिसनका विषयमा वास्तविकता अध्ययन गर्ने तथा ग्यासलाई निलो र रातो रङ बनाउनेबारेमा प्राविधिक अध्ययन टोली गठन गर्ने भएपछि सहमति भएको वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।
 उहाँका अनुसार वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव नूतनराज पोखरेलको संयोजकत्वमा गठित सात सदस्यीय प्राविधिक टोलीमा भौतिक योजना,निर्माण तथा यातायात व्यवस्था, अर्थ र कानुन तथा न्याय मन्त्रालयका प्रतिनिधि, इन्जिनियर र प्राविधिक तथा दुईजना ग्यास व्यवसायी रहने छन् । टोलीले १५ दिनभित्र मुनाफा र कमिसनका विषयमा वास्तविकता अध्ययन गर्ने तथा ग्यास निलो र रातो रङ बनाउनेबारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जनाइएको छ ।
सरकारले ग्यास व्यवसायीले ग्यासमा सिन्डिकेट र कार्टेलिङको नाजायज माग उठाएको भन्दै कडा कारबाहीको चेतावनी दिएपछि अन्य मागमा सहमति गरेर अगाडि बढ्न व्यवसायी तयार भएपछि सहमति भएको हो । यसअघि व्यवसायीले आफ्ना माग पूरा नभए आजदेखि ग्यास वितरण ठप्प पार्ने जनाएका थिए भने सरकारले अत्यावश्यकीय वस्तुको वितरणमा प्रभाव पारेको कसुरमा अत्यावश्यकीय सेवा ऐन, २०१४ अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।


हेम्जा सुईँखेतमा माइक्रो बस र ट्याक्टर ठोकिंदा २ जनाको मृत्यु ।। पोखरा साउन ३१ गते । कास्कीको हेम्जा फेदीबाट बगरतिर आइरहेको ग १ ख २२७२ नं माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुईखेतस्थित म्याग्दी चोकमा बाटो काट्दै गरेकी पैदल यात्री म्याग्दी म¥याङ्ग ५ घर भई हाल कास्की हेम्जा ७ बस्ने अन्दाजी ८० वर्षीया स्वस्तिका जुगजालीलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइते जुगजालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिएपश्चात अनियन्त्रित भई ग.१.त. ७८३ नं. को ट्याक्टरलाई ठक्कर दिंदा बसमा सवार ४ जना मध्ये हेम्जा– ५ याम्दी बस्ने अन्दाजी वर्ष २० का विनोद पाण्डेको पनि उपचारका क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको छ । अन्य ३ जना सोही अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको छ । माइक्रो चालक भने प्रहरी नियन्त्रणमा रहेको छ ।


मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु ।
पुर्ण प्रसाद न्यौपाने,
 सिरहा साउन ३१ गते । सिरहाको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इटहर्वा–२ की २६ वर्षिया इन्दुदेवी पासवानको मृत्यु भएको हो ।
 वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक खगेन्द्र खड्काका अनुसार करेन्ट लागेर घाइते भएकी पासवानको उपचारका क्रममा स्थानीय स्वास्थ्य चौकीमा मृत्यु भएको छ । मृतक पासवानका श्रीमान् वैदेशिक रोगजारका लागि खाडी मुलुकमा छन् । बाबु विदेशमा रहेको अवस्थामा आमाको मृत्यु भएपछि ४ जना छोराछोरीको बिचल्ली भएको छ ।



दार्चुलामा लामो समयदेखि भारतीय रुपयाको अभाव ।
इन्द्र साउद,
 दार्चुला साउन ३१ गते । दार्चुलामा लामो समयदेखि भारतीय रुपैयाँको अभाव भएपछि सर्वसाधारण मारमा परेका छन् । दार्चुलाको लागि दैनिक उपभोग्य बस्तु ल्याउन भारतसंग सीमा जोडिएको सीमावर्ती बजार धारचुला जानुपर्ने भएकाले भारु पैसा अभावमा सर्वसाधारणलाई निकै अप्ठेरो भएको छ । दैनिक उपभोग्य वस्तु किन्न भारत जानुपर्ने र भारु रुपैया नहुदा घाटा व्यर्होनु पर्ने सर्वसाधारणको गुनासो छ । सर्वसाधारण बिरामी हुँदा भारत जानु पर्ने अवस्था आएमा पनि भारुको अभावमा घाटामै पैसा साट्न बाध्य भएका छन् । भारतमा एक हजार नेपाली ६ सय भारुमा साट्ने गर्दछन् ।


बैतडीको श्रीकोटमा पहिरो दलित बस्ति जोखिममा ।
बैतडी साउन ३१ गते ।  बैतडीको श्रीकोट गाविस वडा न ७ कुकुडे पानीको दलित बस्तीमा अबिरल बर्षासगै पहिरो गएको छ । प्रत्येक वर्ष कुकुडेपानी बस्तीमा पहिरो जाने क्रम नरोकिएपछि पुरै बस्तीका परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरो रोकथामका लागि सरोकारवाला निकायले पहल थाल्ने आश्वासन दिए पनि अहिले सम्म पहिरो रोकथामको पहल नभएको स्थानिय कालुराम भुलले बताउनुभएको छ ।

पहिरोले कुकुडेपानीको ३ वटा घरहरु उच्च जोखिममा रहेका छन् भने बस्तीका १८ वटा घरहरु सम्भावित जोखिमको शिकार बनेको स्थानीय अजय राम भुलले बताउनुभयो ।


वर्षाले बाटो अवरुद्ध जनजीवन प्रभावित ।
कृष्ण ओली,े बाजुरा साउन ३१ गते । अविरल बर्षाका कारण जिल्लाका विभिन्न गाविसको जनजीवन थप प्रभावित बनेको छ । साउने झरी प्रत्येक दिन आउने गरी पर्ने मुसल धारे बर्षाका कारण जिल्लाको जनजीवन थप प्रभावित बनेको हो । बर्षाका कारण जिल्लाका मार्तडी बुढीगंगा बह्मतोला कैलाशमाण्डौ लगाएतका गाविसको जनजीवन निकै प्रभावित बनेको स्थानीय बासीले बताएका छन् । लगातारको मुसलधारे बर्षाका कारण बाटो घाटो काठे पुल धारा पँध्येरा बगाएर क्षति पु¥याएको छ भने ठाँउ ठाँउमा पहिरो बग्ने थालेपछि जनजीवन त्रसित बनेको छ । उनीहरुले गाई गोरुलाई घाँसपात गर्न समेत पाएका छैनन् भने बाटो भत्किएर एक ठाँउबाट अर्को ठाँउमा जान आउन समस्या भएको छ । अविरल वर्षाका कारण कोल्टी क्षेत्र जाने बाटोमा पर्ने ठाउँठाउँका काठेपुल बगाउदा आवत जावतमा समस्या भएको छ । अविरल वर्षाका कारण खोलामा पानीको बहाब बढेपछि विभिन्न काठेपुल बगाउँदा सर्वसाधरणलाई पनि वारपार गर्ने समस्या भएको छ  । पहिरोको जोखिममा रहेका जिल्लाका दर्जनौ बस्तीहरु अविरल बर्षा आउन नरोकिए पछि झन त्रसित भएका छन् । वर्षाको समयमा बालबालिकालाई विद्यालय जान आउन समस्या भएको छ ।



Don't Miss
© all rights reserved
made with by netKUTI