कतारमा नेपाली कामदारहरुको संख्या संग संगै सो संग सम्बन्धित समस्या पनि दिनानुदिन बढ्दो छ । यहाँ स्थापित विभिन्न सामाजिक संघ संस्थाहरुले आफ्नो तर्फबाट समस्यामा परेका नेपाली कामदारहरुलाई सक्दो सहयोग दिदै आएता पनि अन्तिम आश्रय तथा समस्याको पोको विसाउने थलो कतारस्थित नेपाली दूतावास नै हो । यहाँ कार्यरत आफ्ना नागरिकहरुको हक हितको सुरक्षा तथा अभिभावकत्वको भूमिका निर्वाह गर्नु दूतावासको कर्तव्य पनि हो । अतः आश्रय खोज्दै दूतावास पुग्नु एक सामान्य प्रकृया हो ।
कुनै वेला पासपोर्ट नविकरण गर्दै भ्याई नभ्याई हुने दूतावासमा केही समय अधि सम्म व्यक्तिगत श्रम स्वीकृतिको चाप थेग्न गाह्रो साह्रो परेको देखिन्थ्यो । यसका साथसाथै श्रमिक समस्याको चाप दूतावासलाई जहिले पनि रहिरह्यो र त्यसमा कहिल्लै कमि आउन सकेन, बरु क्रमिक रुपमा बढ्दो नै छ, जुन स्वभाविक पनि हो । जनसंख्याको बृद्धि संगसंगै समस्याका उजूरीमा पनि बृद्धि हुन्छ नै । अध्ययन अनुसन्धान विना अगाडी आईपरेका समस्यामा मात्र केन्द्रित भई समाधान खोज्दा सोहि समस्याको मात्र समाधान पहिल्याईन्छ भन् सो को रोकथामबाट अन्य समस्याहरुको शुत्रपात पनि हुन सक्दछ । अतः दूतावासको विगत १२ वर्षको अनुभवलाई अध्ययन र अनुसन्धान गरि श्रमिक समस्याहरुको विस्तृत पहिचान गर्नु र ति समस्याहरुको स्रोतबाट नै निवारण खोजी अगाडी बढ्न सकेमा जनसंख्या बृद्ध भए पनि समस्याहरु कमी ल्याउन सकिन्थ्यो । यस तर्फ दूतावासको ध्यान आकर्षित हुनु जरुरी देखिन्छ ।
नेपाल सरकारले पनि दूतावासको बढ्दो कामको चापलाई ध्यानमा राखेर नै राजदूत सहित तिन जना कुटनीतिक कर्मचारीबाट शुरु गरेको दूतावासमा हाल ६ जना कुटनीतिक कर्मचारीको व्यवस्था गरिसकेको छ । दूतावासमा कामको चापलाई हेर्दा नेपाल सरकारले अझ एक जना कुटनीतिक कर्मचारी थप गर्नु पर्ने महशुस भईसकेको छ । त्यसै गरि हाल संचालनमा रहेको दूतावास भवनमा स्थान अभावको महशुस भईरहेको अवस्थामा अर्को ठूलो भवनमा दूतावास स्थानान्तरण गर्नु जरुरी देखिसकिएको छ । यसरी सिमित स्रोत तथा साधनमा संचालिय दूतावासबाट सेवाग्राहिहरुले उच्चतम सेवाको अपेक्षा गर्नु पनि न्यायोचित नहोला ।
दूतावासले आफ्ना नागरिकहरुलाई सेवा सुविधा प्रदान गर्दा नेपाल अनि कतार दुवै राष्ट्रको कानूनी दायर भित्र रहनु अपरिहार्य छ । तर आफ्ना नागरिकहरुको सुरक्षाको लागि दूतावास केही हद सम्म क्षेत्राधिकार वाहिर गएका उदाहरणहरु पनि नपाईएका होईनन् जसमध्ये एक उदारणीय संस्मरण "आश्रय घर" हो । कतारको कानूनले वर्जित गरेका यस्ता "आश्रय घर" संचालन गर्नु आफैमा क्षेत्राधिकार वाहिर गएको उदाहरण हो । सन् २००२ ताका राजदूतावासलाई यस्ता "आश्रय घर" संचालन नगर्न स्मरण गराउदै कतारको सम्बन्धित निकायबाट पत्राचार भएकै हो । तर पनि आफ्ना नागरिकहरुको सेवा सुविधाको लागि विगत केही वर्षदेखि अघोषित रुपमा दूतावासकै भवनमा एक कोठा उपलब्ध गराई "आश्रय घर" संचालनमा रहेको नेपालीहरु माझ लुकेको छैन । यस्तो "आश्रय घर" मा कुनै प्रकारको दुर्घटना वा भवितव्य नपर्ला भनि भन्न सकिदैन, जुन अवस्थामा दुबै मित्रराष्ट्रको सम्बन्धमा पनि नकारात्मक असर पर्न सक्दछ । त्यस्तै “भगौडा” कामदारहरुलाई कुनै पनि व्यक्ति संस्था वा निकायले आश्रय दिनु गैर कानूनी हुन जान्छ ।
हाल कर्मचारी थप भई दूतावासको कार्यसंचालनकै लागि आवश्यक परि सो कोठा बन्द हुन जानु विढम्वना मान्न सकिन्छ । यसको वापजुद आश्रम खोज्दै दूतावासको शरणमा आउने नेपालीहरुको संख्यामा कमि भने आएको छैन । "आश्रय घर" बन्द गर्नु समस्याको समाधान होईन भने आफ्नो क्षेत्राधिकार वाहिर गएर आश्रय दिनु पनि कुटनैतिक आचरण हुन सक्दैन । सहयोगको अपेक्षा सहित आश्रय खोज्दै आफ्नो दूतावास आएका नागरिक आश्रयबाट बन्चित हुन पुग्दा दूतावास प्रति नै नकारात्मक भावना पैदा हुनसक्ने खतरा रहिरहन्छ । पिडितहरु अझ पिडित हुन नपरोस् यस तर्फ दूतावासले ध्यान दिनै पर्छ ।
समस्या नेपाली श्रमिकलाई मात्र पर्ने होईन न त नेपालीहरुमात्र आफ्नो दूतावासमा आश्रय लिन जाने हुन् । हाम्रा छिमेकी मित्रराष्ट्रहरु भारत, वंङ्गलादेश, पाकिस्तान, श्रीलंका लगायत फिलिपिन्स अनि ईण्डोनेशियाका दूतावासहरुमा पनि त्यहाँका नागरिकहरु आश्रय खोज्दै जान्छन् । ति देशका दूतावासहरुले पनि आफ्ना नागरिकहरुको सुरक्षा र हितमा आश्रयस्थल वा वैकल्पिक व्यवस्था गरेकै होलान् । नेपाली दूतावासभन्दा पहिले नै स्थापित यि मित्रराष्ट्रका दूतावासहरुले के कस्ता व्यवस्था गरेका छन् सो को अध्ययन गरि आवश्यकता परेमा कतार सरकारसंग सहयोग र सहकार्य गरि आश्रय खोज्दै आउने आफ्ना नागरिकहरुको उद्दारमा दूतावास सकृय हुनु जरुरी छ । तसर्थ यस सम्बन्धि आवश्यक अध्ययन गरि के कस्तो कार्यविधि अपनायमा कानूनी दायरा भित्र रहेर आफ्ना नागरिकहरुलाई आश्रय दिनुका साथै तिनका हक हितको सुरक्षा गर्न सकिन्छ भन्ने तिर हाम्रो दूतावास गम्भिर भई लाग्नु ढिला भईसकेको छ ।
Comments: svaidya@qatar.net.qa