समुन्द्र पौडेल,
तनहुँ, भदौ १२- उत्तरी गोरखामा बिमानस्थल निर्माणका लागि सम्भाव्य अध्ययन सुरु भएको छ। प्रधानमन्त्री बाबुराम भट्टराईको सक्रियतामा नेपाल उडड्यन प्राधिकरणले उत्तरी गोरखाका ४ गाविसमा बिमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनको काम सुरु भएको हो।
उत्तरी गोरखाको नूब्री उपत्यका क्षेत्रमा यातायात पहँुच बिस्तार गर्न बिमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययनको काम शुरु गरिएको नुब्री साँस्कृतिक युवा उत्थान समितिका अध्यक्ष लाक्पा डुण्डुप लामाले बताए। 'नूब्री क्षेत्रमा बिमानस्थल बनेपछि उत्तरी गोरखाको राजधानीसंग पहुँच नजिकिन्छ,' उनले भने, 'बिमानस्थलकै माध्यमबाट यहाँका बासिन्दाको स्वास्थ्य, शिक्षा र आयआर्जनमा टेवा पुग्छ।' नुब्री उपत्यकामा उत्तरी गोरखाका सामागाउँ, लो, प्रोक, बि गाविस पर्छन्।
विमानस्थलको सम्भाव्य अध्ययनका लागि प्रोक, सामागाउँ र लो गाविसका विभिन्न गाउँमा जग्गा सर्भे गरिएको लामाले बताए। 'उपर्युक्त जग्गाको खोजीमा जुटिरहेका छौं,' उनले भने, 'अन्य स्थानको तुलनामा प्रोक गाविसको नार्मुङमा राम्रो देखिएको छ।' सम्भाव्य अध्ययनका लागि काठमाण्डौ स्थित पेच स्टुडियो अफ इन्जिनियरबाट गएको टोलीले प्रोक गाविसको प्रोक गाउँ, नार्मुङ, सामागाउँ गाविसको सामागाउँ र लो गाविसको स्यालामा सर्भे सम्पन्न गरिसकेको छ।
यातायात असुविधाकै कारण पिछडिएका गाउँलेहरु बिमानस्थल निर्माणका लागि जुनसुकै स्थानमा पनि जग्गा दिन प्रतिबद्धता जनाएको उनले बताए। नुब्री उपत्यकामा बिमानस्थल संचालनमा आए पश्चात मनास्लु हिमाल संगै लार्केपास गर्ने पर्यटकको संख्यामा समेत बृद्धि हुने लामाले बताए। उनले भने, 'यहाँका जनतालाई राहत हुन्छ भने राज्यलाई पर्यटनको हिसाबले फाइदा हुन्छ।'
विमानस्थल निर्माणका लागि प्राविधिकहरु गाउँ आएपछि गाउँलेहरुमा विमानस्थल संचालन हुनेमा गाउँलेहरु आशावादी भएको नार्मुङका छिरिङ युण्डुक लामाले बताए।
'बिरामी पर्दा सदरमुकाम लैजान ५ दिन हिड्नुपर्छ, हुनेखाने हेलिकप्टर चार्टर गरेर काठमाण्डौ लैजान्छन्,' उनले भने, ' गाउँमा जहाज आउने जाने गरेपछि सस्तोमा काठमाण्डौ जान पाइने हुदाँ बिरामी पर्दा गाउँमै मर्नुपर्ने बाध्यता टर्छ।' गाउँमा बिमानस्थल निर्माण गरेर उडान शुरु भएपश्चात गाउँका जडिबुटी सहित कृषि उत्पादनले बजार पाउने उनले बताए।
सिमित समयमा मात्र चाइनाले सिमाना खुला गर्ने भएकाले अन्य समयमा नुब्री उपत्यकामा उत्पादित जडिबुटी सहित स्याउ र आलु कहिएर फाल्नु परेको लामाले बताए। 'यातायात पहुँच नजोडिदाँ आयआर्जनको माध्यम नै रोकिएको छ,' उनले भने, 'जहाज आवातजावत भए जडिबुटी, स्याउ र आलुले राम्रो बजार पाँउछन्।'
सामागाउँ उपल्लो क्षेत्रमा पर्ने भएकाले विमानस्थललाई प्रोकमा राख्नु उपयुक्त भएको गाप गाउँका निमा लामाले बताए। 'सामागाउँ र प्रोक दुबै ठाउँमा बिमानस्थलका लागि राम्रो जग्गा छ,' उनले भने, 'सामागाउँ अन्तिम गन्तव्य भएकाले प्रोकमा बिमानस्थल राखे पर्यटकले प्रकृतिसंग रमाउँदै हिड्न पाउँछन्।'
प्राविधिकहरु बिमानस्थलको सर्भेमा जुटेपछि गाउँलेहरु बिमानस्थल बनोस् भन्ने अपेक्षाका साथ जुटेको उनले बताए।
उत्तरी गोरखाको प्रमुख समस्या स्थानीय बासिन्दाले उपचार नपाउनु भएकाले बिमानस्थल निर्माण भए विरामीका लागि राहत पुग्ने उनले बताए। 'बिमानस्थल बनेपछि लार्केपाससंगै मनास्लु हिमाल र नुब्री उपत्यकाका पर्यटकलाई निकै सहज हुन्छ,' उनले भने, 'पर्यटन व्यवसाय फस्टाउने हुदाँ राज्यसंगै स्थानीयलाई पनि दोहोरो फाइदा हुन्छ।'
प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री भएलगतै उत्तरी गोरखामा विमानस्थल आवश्यक रहेको भन्दै बिमान निर्माणको कामलाई अगाडी बढाएका थिए। विमानस्थल निर्माणका लागि गत बैशाख १३ गते उडड्यन प्राधिकरणका प्राविधिक सहित प्रधानमन्त्री भट्टराई प्रोक गाविस पुगेका थिए। प्राविधिकले भौगिलिक कारणले प्रोकमा बिमानस्थल उपर्युक्त नभएको जनाएपछि स्थानीय बासिन्दा र प्रधानमन्त्रीको सक्रियतामा अन्य गाविसमा बिमानस्थलका लागि उपर्युक्त जग्गा खोज्दै उडड्यन प्राधिकरणले सर्भे सुरु गरेको हो।
बिमानस्थलको सम्भाव्य अध्ययनको काम अन्तिम चरणमा पुगेको सर्भेमा संलग्न इन्जिनियर संजीव रानाले बताए। 'सट टेक अफ एण्ड ल्याण्डिङ एअरर्पोटका लागि सर्भे गरेका हौं,' उनले भने, 'टुइनेटर विमान सञ्चालन हुने खालको विमानस्थलको सम्भाव्य अध्धयन गरेका हौं।' विमानस्थलका लागि ३ सय मिटर चौडाई र ९ सय मिटर लम्बाई क्षेत्रफलको समथर जग्गा आवश्यक परेपनि हिमाली क्षेत्र भएकाले थप केही फराकिलो जग्गा आवश्यक पर्ने उनको भनाई छ। source: http://www.nagariknews.com