Responsive Ad Slot

latest

महिला व्यावसायिक बन्दै I

Wednesday, August 15

/ by Admin BHOLA THAPA


तनहुँ, ३१ साउन/ घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीबाट ढाका बुनाइसम्बन्धी तालिम लिएका महिला व्यवसायतर्फ लागेका छन् ।

परम्परागतरूपमा ढाका बुनाइ गर्दै आएका जिल्लाका ग्रामीण भेगका महिला तालिम लिएपछि व्यावसायिक बन्न लागेका हुन् । परम्परागतरूपमा ढाका बुनाइसम्बन्धी ज्ञान भएका महिलालाई समावेश गरी कार्यालयले ढाका बुनाइ तालिम प्रदान गरेको थियो । तालिमपछि महिलाले व्यावसायिकरूपमा काम गरी आम्दानीको साथै आत्मनिर्भर बन्दै गएका छन् ।

कार्यालयले गत आवमा जिल्ला र जिल्ला बाहिरका गरी ७२ जना महिलालाई ढाका बुनाइ तालिम प्रदान गरेको कार्यालयका प्रमुख उद्योग अधिकृत नारायणमणि लामिछानेले बताउनुभयो ।

असीजना महिलालाई तालिम प्रदान गर्ने लक्ष्य भए पनि सोअनुसार पूरा हुन नसकेको लामिछानेले बताउनुभयो । ‘गत वर्ष बजेट कम आएका कारण लक्ष्यअनुसार तालिम प्रदान गर्न सकेनौँ,’ उहाँले भन्नुभयो ।


त्यस अवधिमा जिल्ला बाहिरका २८ र जिल्लाभित्रका ४४ जना महिलालाई तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये ५९ जनजाति, एक दलित र १२ अन्य छन् । तालिममा जिल्लाका विभिन्न गाविसका अलवा स्यांजा, गोरखा, रामेछाप, बागलुङलगायतका जिल्लाका महिला सहभागी थिए ।

दुईमहिने तालिमका क्रममा उनीहरू वस्तु विकास केन्द्र ढाका दमौलीमा बस्छन् । तालिम समापनपछि कार्यालयले जिल्लाभित्रका महिलालाई रु एक हजार र जिल्ला बाहिरका महिलालाई रु तीन हजारसमेत प्रदान गर्ने गरेको छ । गत वर्ष ढाका बुनाइ तालिमको लागि रु आठ लाख ३० हजार खर्च भएको थियो । रासस
Don't Miss
© all rights reserved
made with by netKUTI