काठमाडौं साउन १९ गते ।।।नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले आज देशको समसायिक राजनीतिक अवस्थाको बारेमा राष्ट्रपति डा रामबरण यादवसँग सामूहिक रुपमा छलफल गर्दैछन् । विहान नौ बजेपछि राष्ट्रपति भवन शीतलनिवासमा हुने भेटमा काङ्ग्रेसका जिल्ला सभापतिहरुले देशमा उत्पन्न राजनीतिक तथा संवैधानिक सङ्कट निवारणको लागि आफूहरुको दोस्रो राष्ट्रिय भेलाले पारित गरेका प्रस्तावहरुको बारेमा जानकारी गराउने तयारी गरेका छन् । काङ्ग्रेसका जिल्ला सभापतिहरुको भेला यही साउन १५ र १६ गते सिन्धुपाल्चोकको बाह्रविसेमा सम्पन्न भएको थियो । राष्ट्रपतिसँगको भेटमा संविधानसभाको पुनस्थापनाभन्दा पनि संसदको निर्वाचन गनुपर्ने सुझावसहित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा आदानप्रदान गरिने नुवाकोट काङ्ग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । राष्ट्रपतिसँगको भेटमा दोस्रो राष्ट्रिय भेलामा सहभागी भएर काठमाडौंमा रहेका जिल्ला सभापतिहरुको उपस्थिति रहनेछ ।