Responsive Ad Slot

latest

आज रक्षाबन्धन–जनैपूर्णिमा

Thursday, August 2

/ by Unknown





काठमाडौँ, १८ साउन । जनैपूर्णिमाका दिन आज बिहान सबेरै विधिपूर्वक जनै मन्त्रन यजमानहरू आ–आफ्ना गुरु–पुरोहितकहाँ जाने गर्दछन् ।

हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मासूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु, महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।

यस उपलक्ष्यमा तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल र कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई ‘जनैपूर्णिमा’ पनि भन्ने गरिन्छ ।

यसैगरी आजको दिन देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ ।

आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेको क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदीबहिनी र दाजुभाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ ।
आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

आज काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, त्रिवेणीलगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ ।

नेवार समुदायमा आजका दिनलाई ‘गुन्हु–पुन्ही’ भनी मनाइने परम्परा रहेको छ ।

विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ ।

आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ ।

यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्दछ । रासस
Don't Miss
© all rights reserved
made with by netKUTI