कमल खत्री ÷म्याग्दी, साउन १९ गते ।म्याग्दीको अर्मन–७ खोलाखर्कमा पहिरोका कारण एघार परिवार विस्थापित भएका छन् । बस्ती भन्दा माथि खनिएको मोटरबाटोका कारण शुक्रबार विहान पहिरो झरेपछि स्थानीय रत्न बहादुर विक, भिम बहादुर खत्री, कुल बहादुर खत्री, थम बहादुर खत्री, भक्तबहादुर विक, अमृता विक, धनबहादुर विक, भक्तबहादुर विक, कुलबहादुर विक, सुर्जेबहादुर विक र चन्द्र बहादुर फगामीको घरपरिवार विस्थापित भएका हुन् ।विस्थापित बनेका परिवार स्थानीय शिशुकल्याण माविको प्राङणमा पाल टाँगेर बस्न बाध्य भएका छन् । स्थानीय युवा टेकप्रसाद सुवेदीले पहिरो बिस्तारै झरेका कारण आवश्यक लत्ताकपडा र अन्न बाहिर निकाल्न पाएको बताउनुभयो । ‘बस्तीभन्दा पाँचसय मिटर माथि अर्मन र बाग्लुङको ताराखोला जोड्ने मोटरबाटो खनिएको छ, त्यसैबाट पहिरो गएको हो, उहाँले भन्नुभयो ‘बाटो बगाएपछि वडा ८ र ९ का विद्याथीहरु विद्यालय जान समस्या भएको छ ।’ उद्धारका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट पाँच जना प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको छ । पहिरो गएपछि स्थानीयबासी, वैशालु वातावरण संरक्षण युवा र रेडक्रसकर्मी विहानै देखि उद्धारमा खटेका थिए । यसैबीच, म्याग्दी खोलामा आएको दाउरा झिक्ने क्रममा दरबाङ्ग–७ दिच्यामका २५ बर्षीय अमर छन्त्याललाई खोलाले बगाएको छ । दाउरासंगै खोलामा हुत्तिएर बेपत्ता उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।