Responsive Ad Slot

latest

कबिता

Wednesday, August 1

/ by Unknown

डिल्ली मल्ल दाङ
 सपनाले देश सरेपछि
विपनाले भेष फेरेपछि
खैँ, के भयो-भयो
हिजो संसारै लाग्ने गाउँबस्ती
आज बिरानो-बिरानो भएझैँ लाग्छ
हिजो मुटु नै लाग्ने साथीसङ्गी
आज पराई-पराई भएझैँ लाग्छ
हो कमरेड-
देश हराएजस्तो न भेष हराएजस्तो
यो सुनसान-सुनसान शहीद गाउँबाट
पीडाका अनगिन्ती पहराहरुसँग जुध्दै
अनिगिन्ती अनिदा रातहरु गन्दै
आशाको धिपधिपे दियालो सल्काएर
तपाईलाई रिर्पोटिङ लेखिरहेछु
हजुर म उही शेष मगर
१५ नम्बर मेष कमाण्डर


अचेल मेष चल्दैनन् यतातिर
न त आउँछन् आँधीको बेगसरि
विजयको सन्देश बोकेर मालचरीका लस्करहरु
खैँ के भयो-भयो
उजाड-उजाड, उराठ-उराठ लाग्छन्
पाखा पखेरी र भञ्ज्याङ चौतारीहरु पनि
हो कमरेड-
देश हराएजस्तो न भेष हराएजस्तो
करङ भाँचिएको जनकम्युन बस्तीमा
फाट्दै गएका मनहरु सिलाउँदै
भ्वाङ पर्दै गएका विश्वासहरु टाल्दै
बलेसीमा आशाको त्यान्द्रो झुण्ड्याएर
चुलेसीले क्लेश काटिरहेछु
हजुर म उही शेष मगर
१५ नम्बर मेष कमाण्डर


सुन्दैछु म
एकहुल स्वप्नदर्शीहरु
शिविरतिर छन् रे अचेल
थाहा छैन
सपनाहरु सबै शिविरमै छोडेर
शहरतिर झर्ने सुरसार कसिसके कि
सपनाको भारी बोकेर
आस्थाको सगरमाथा उक्लिरहेछन् रु
हो कमरेड-
देश हराएजस्तो न भेष हराएजस्तो
मुना निमोठिएको नमूना गाउँमा
हराउँदै गएका सपनाहरु संगाल्दै
बिलाउँदै गएका विपनाहरु बटुल्दै
अभावको अँगेनामा अगुल्टो ठोसेर
आशाको ओदानमाथि ढिडो ओडाल्दैछु
हजुर म उही शेष मगर
१५ नम्बर मेष कमाण्डर


अनाम देशको गुमनाम प्रदेशजस्तै
बेखबर छन् गाम, थवाङ र जेलवाङहरु
बैठक बस्दैनन् अचेल
फुन्टीवाङ, लावाङ र चुनवाङहरु पनि
न त जनसैन्य प्रशिक्षण लिन्छन्
लुकुम, महत र गुनामहरु
बिर्से कि खोई अचेल भेडीडाँडाहरुले पनि
एकढिक्का एकताको अंकमाल गर्न
किन-किन सधैँ जुधिरहेको देख्छु- मैमत्त साँढेजस्तै
अखबारका अक्षरहरु
हो कमरेड-
देश हराएजस्तो न भेष हराएजस्तो
बाटो हराएको वैरागी बादलझैँ
बलिदान र समर्पणको मानचित्रबाट
हराउँदै गएको यो बिरानो बस्तीमा
निभ्दै गएका आक्रोशका फिलिङ्गाहरु बटुल्दै
अभावको आँगनमा सुस्केरा बिसाएर
फेरि मेष चलाउने सरजाम जुटाउँदैछु
हजुर म उही शेष मगर
१५ नम्बर मेष कमाण्डर ।
Don't Miss
© all rights reserved
made with by netKUTI