भ्रष्टाचारसम्बन्धी कानुनलाई समयसापेक्ष सुधार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।
काठमान्डौ साउन १२ गते । प्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि तर्जुमा गरिएका ऐन कानुनलाई समयसापेक्ष सुधार गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान, नेपालले आज प्रधानमन्त्रीकै कार्यकक्ष सिंहदरबारमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले जनताले चाहेअनुसार भ्रष्टाचारमुक्त समाज स्थापना गरी मुलुकमा सुशासनको प्रत्याभूति दिन आफू तत्पर रहेकोमा जोड दिनुभयो ।
अभियानद्वारा बुझाइएका सबै माग समयसापेक्ष र सान्दर्भिक भएकाले यसलाई कार्यान्वयनको दिशामा लैजानका लागि आफू प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा सबै पक्षको सहयोग आवश्यक हुने बताउनुभयो ।
गतिरोध अन्त्यका लागि राष्ट्रपतिले छिट्टै कदम चाल्ने प्रतिपक्षी दलका नेताहरुको विश्वास ।
काठमान्डौ साउन १२ गते । प्रतिपक्षी दलका नेताहरुले मुलुकमा लामो समयदेखि जारी राजनीतिक र संवैधानिक सङ्कट अन्त्यका लागि राष्ट्रपति डा. रामवरण यादवले छिट्टै कदम चाल्ने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लबले आज राजधानीमा गरेको साक्षात्कारमा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधानको संरक्षक र पालकको हैसियतले राष्ट्रपति यादवले छिट्टै कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले मुलुकमा देखिएको राजनीतिक, संवैधानिक सङ्कट अन्त्यका लागि राष्ट्रपतिले संविधानलाई सक्रिय बनाउन संविधानको संरक्षकको हैसियतले उपयुक्त कदम चाल्नुपर्ने धारणा राख्नुभयो ।
नेकपा एमालेका सचिव शङ्कर पोख्रेलले संविधान मर्ने अवस्थामा पुगेको र सरकारले पनि संविधानको पालना नगरेको अवस्थामा संविधानको संरक्षक राष्ट्रपति चुप लागेर बस्न नहुने तर्क गर्दै संविधानको रक्षाका लागि नेपाली जनताले राष्ट्रपतिको भूमिकाको अपेक्षा गरिरहेको बताउनुभयो ।
साक्षात्कारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले सरकार सहमतिमै निर्वाचन गर्ने पक्षमा रहेको भन्दै सहमतिमै निर्वाचनको नयाँ मिति तोकिने जानकारी गराउनुभयो । दलहरुबीच एक साताभित्र सहमतिमै निकास खोज्ने समझदारी बनिसकेको भन्दै सहमतिमै निर्वाचन हुने उहाँले दाबी गर्नुभयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले विगतमा पनि राज्यले पूर्व गृहमन्त्रीको हिसाबमा दिने गरेको सुविधा नलिएको स्मरण गर्दै यसपटक पनि आफूले सुविधा नलिने घोषणा गर्नुभयो । उहाँले पूर्व सरकार प्रमुख र राष्ट्रप्रमुखलाई परदर्शी ढङ्गले राज्यले सुविधा दिन सक्ने भएपनि गृहमन्त्रीलाई दिनुको औचित्य नभएको तर्क पनि राख्नुभयो ।
नेपाल–चीनबीच सीमा वार्ता सम्पन्न ।
काठमान्डौ साउन १द्द गते । नेपाल र चीनबीच सीमा सुरक्षासम्बन्धी द्विपक्षीय वार्ता चीनको राजधानी बेइजिङमा सम्पन्न भएको छ । वार्ताका लागि गृहसचिव सुशीलजङ्ग राणाको नेतृत्वमा तर्फ गएको आठ सदस्यीय टोली बिहीबार स्वदेश फर्किएको छ । वार्तामा सीमा क्षेत्रमा हुने अपराध रोकथाम गर्न दुवै पक्ष सहमत भएको गृह मन्त्रालयले जनाएको छ । बैठकमा सीमा सुरक्षा कानुन कार्यान्वयन र आपसी हितका सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।
बैठकमा चिनियाँ पक्षको नेतृत्व जनवादी गणतन्त्र चीनका सार्वजनिक सुरक्षा मन्त्रालयका उपमन्त्री चेन जिमिनले गर्नुभएको थियो । प्रत्येक दुई–दुई वर्षमा पालैपालो नेपाल र चीनमा हुने सचिवस्तरीय बैठकमा सीमा क्षेत्रमा हुने अपराध, लागुऔषध ओसारपसार, मानव बेचबिखन, तस्करी, अवैध आवागमनलगायतका विषयमा छलफल हुने गरेको छ । आगामी बैठक सन् २०१४ मा नेपालमा गर्ने सहमति भएको बताइएको छ ।
विद्यार्थी सङ्गठनलाई वार्ता टोली बनाउन आग्रह ।
काठमान्डौ साउन १२ गते । उच्चमाध्यमिक शिक्षा परिषद्ले आन्दोलनरत विभिन्न विद्यार्थी सङ्गठनलाई शैक्षिक समस्याको समाधानका लागि वार्ताको टेबुलमा आउन आफ्नो वार्ता टोली पठाउन आग्रह गरेको छ ।
परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले शैक्षिक माग प्रस्तुत गर्ने तथा आन्दोलनमा रहेका सबै प्रमुख विद्यार्थी सङ्गठनलाई वार्ताका लागि औपचारिक आग्रह गरिएको जानकारी दिनुभयो ।
उहाँले विद्यार्थी सङ्गठनले वार्ता टोलीको नाम पठाएपछि परिषद्ले शिक्षा मन्त्रालय र शिक्षा विभागसहितको वार्ता टोलीका लागि सिफारिस गर्ने जानकारी दिनुभयो । प्रमुख पार्टी निकटका विद्यार्थी सङ्गठनले उच्चमाविहरुको शुल्क, विज्ञापन, विदेशी नामलगायतका विषयमा माग राखी परिषद्मा घेराउलगायतका आन्दोलन गरिरहेका छन् ।
नेकपा–माओवादी निकटको विद्यार्थी सङ्गठनले विभिन्न शिक्षण संस्थामा भौतिक आक्रमणसमेत गरेको थियो । यसैबीच, आन्दोलनरत विद्यार्थी सङ्गठनहरु र उच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान) का पदाधिकारीबीच आज दिउँसो वार्ता हुने हिसानका वरिष्ठ उपाध्यक्ष डा बाबुराम पोखरेलले जानकारी दिनुभयो ।
पत्रकार टोलीद्वारा भक्तपुरको अवलोकन ।
काठमान्डौ १द्द गते । एसिया प्रशान्त क्षेत्रका २६ देशका विभिन्न समाचार माध्यमका प्रमुख तथा प्रतिनिधिलाई आज सम्मान गरिएको छ । दक्षिण एसियाली प्रशान्त क्षेत्रका लागि प्रसारण विकास संस्था (एआइबिडी) का प्रमुख एवम् क्रियाशील पत्रकार मञ्च भक्तपुर, समय समाज साप्ताहिक र रफत सञ्चार क्लब भक्तपुरद्वारा संयुक्त रुपमा आयोजित स्वागत कार्यक्रममा भक्तपुरका सञ्चारकर्मीले विभिन्न देशका ५५ जनालाई खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा एआइबिडीका निर्देशक याङ्ग बिनु याङ्गले नेपालका पत्रकारले आफ्नो देशको मौलिकता र सम्पदा संरक्षणमा कलम चलाएर योगदान दिएको उल्लेख गर्दै भक्तपुर कला, संस्कृति, सम्पदा र ऐतिहासिकताले भरिपूर्ण रहेकाले विदेशी पत्रकारको टोली भक्तपुर अवलोकनबाट प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले विदेशी पत्रकारले भक्तपुरको अवलोकन गरेर यहाँको सम्पदालाई आ–आफ्नो देशमा लगेर प्रचार गर्न सहयोग पुग्ने बताउनुभयो । विदेशी पत्रकार टोलीले भक्तपुरको दरबार स्क्वायर, पचपन्ने झ्याले दरबार, पाँचतले मन्दिर, पोटरी स्क्वायरलगायतको सम्पदाहरुको अवलोकन गर्नुभएको थियो ।
कुटपिटबाट एकजनाको हत्या, पीडित पक्षद्वारा जिल्ला अदालतमा नाराबाजी ।
कलक खत्री, बझाङ साउन १२ गते । बझाङको दौलिचौर गाविस ७ घोगाडाका ३५ वर्षका वीरबहादुर बोहराको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । हिजो राती घरमा सुतिरहेका बोहरा गाउँकै रङ्गलाल बोहराको समूहको कुटपिटबाट गम्भिर घाईते हुनुभएको थियो । उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
खाना खाएर घरमा सुतिरहेका बोहरालाई खोज्दै राती १२ बजेतिर रंगलाल बोहरालगायतका १०÷१२ जनाको समूह बञ्चरो, हसिँयालगायतका धारिलो हतियार लिएर बोहराको घरको ढोका फुटाएरभित्र प्रवेश गरेको थियो । सुतिरहेका बेला धारिलो हतियार प्रयोग गरेर हत्या गरेको मृतक बोहराका आफन्तले बताएका छन् ।
बोहराको हत्याका आरोपित रंगलाल बोहरा गत वर्ष यार्सा संकलन गर्न गएका सोही गाउँका १८ वर्षिय सत्यराज बोहरालाई कुटपिट गरी हत्या गरेको अभियोगमा थुनामा परेका व्यक्ति हुन् । हत्याको अभियोगमा थुनामा परेका व्यक्तिलाई पुनरावेदन अदालतका मुख्य न्यायाधीश जोशीले रंगलाल बोहराबाट घुस खाएर धरौटीमा रिहा गर्दा उनले फेरि अर्कालाई मारेको भन्दै आक्रोसितपीडित परिवारले जिल्ला अदालतमा ढुङ्गामुढा गर्नका साथै अदालतका विरुद्ध चर्का नाराबाजी समेत गरेका छन् ।
ठूलो परिमाणमा प्रतिबन्धीत भारतीय नोटसहित दुई युवक पक्राउ ।
रामप्रसाद खरेल, इटहरी साउन १२ गते । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मोरङले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय ५ सय दरका नोटसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर ओलने ७ स्थायी घर भई रवि ५ मा बस्दै आएका १९ वर्षीय चन्द्रमान राई र इलाम महामाई ९ का २२ वर्षीय सुरेन्द्र राई छन् । उनीहरुलाई गएराती विराटनगर भन्सार क्षेत्रवाट भारु ५ सय दरका नोट सटही गरेर ल्याउँदै गरेको अवस्थामा विराटनगर १८ को पारिजात चौकवाट सशस्त्र प्रहरीको राजमार्ग चेक गस्ती टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयवाट खटिएको टोलीले दुई लाख ५० हजार भारतीय रुपैंया बराबरको ५ सय दरका ५ सय थान नोट बरामद गरेको हो । त्यसका साथै प्रहरीले एक सय दरका ७ सय थान भारतीय रुपैंया समेत बरामद गरेकोमा उक्त रुपैयाँ सशस्त्र प्रहरीले पक्राउ परेकाका आफन्तलाई फिर्ता दिएको छ ।
रुपन्देही जिल्ला शौचालय निर्माणमा पछाडि ।
सुमन अधिकारी, बुटवल साउन १२ गते । सन् २०१७ मा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य राखिएको भएपनि रुपन्देहीमा लक्ष्मअनुसार काम हुन सकेको छैन । आर्थिक वर्ष २०६८÷६९ मा जिल्लामा ५७ प्रतिशत शौचालय बनेको छ । विकास निर्माणको हरेक हिसाबले अगाडि रहेको रुपन्देही जिल्ला शौचालय प्रयोगको हिसाबले भने निकै पछाडि रहेको एक तथ्याङ्कले देखाएको छ ।
रुपन्देहीका ६९ गाविस र २ नगरपालिकामध्ये ५ गाविस बाहेक अन्य गाविस तथा नगरपालिका शौचालय प्रयोगको हिसाबले निकै पछाडि रहेको पाइएको हो । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय योगिकुटीका अनुसार रुपन्देहीमा जिल्लामा शौचालय निर्माण गरिएको घरहरुको सङ्ख्या ५७ प्रतिशत रहेको छ । त्यसैगरि ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानीको सुविधा पुगेको छ ।
डिभिजन प्रमुख नन्दलाल बन्जाडेले शौचालय प्रयोगको हिसाबले रुपन्देही बाजुरा जिल्लाभन्दा पछाडि रहेको बताउनुभयो । उहाँले तीन वर्षदेखि शौचालय निर्माणको अभियान सन्चालन गरिएपनि समुदायमा रहेका केही व्यक्तिहरुका कारण अभियान सफल पार्न कठिनाई भएको बताउनुभयो । रुपन्देही जिल्लामा सरसफाई कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा गरि २२ वटा खानेपानी आयोजना सन्चालित छन् ।
रुपन्देहीमा गएको आर्थिक वर्ष करिब ८ हजार युनिट रगत सङ्कलन ।
सुमन अधिकारी, बुटवल समउन १२ गते । नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाले गएको आर्थिक वर्ष २०६८÷०६९ मा झन्डै ८ हजार युनिट रगत सङ्कलन गर्न सफल भएको छ । यसमध्ये ७ हजार ७ सय युनिट वितरण गरेको छ । रेडक्रस सोसाईटी अन्तर्गत रुपन्देही जिल्लामा रहेका रक्तसंचार सेवा केन्द्र बुटवल र ईकाई सिद्धार्थनगरबाट यो बराबरको रगत सङ्कलन भई वितरण गरिएको हो ।
औं रक्तसञ्चार दिवसको अवसरमा आज बुटवलको ब्लड बैंकमा आयोजित कार्यक्रममा वक्ताहरुले सोसाईटीले गरेको कामको प्रसंशा गरेका थिए ।
रकम व्यापक दुरुपयोग भएको भन्दै खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालयमा छापा ।
प्रकाश बम, डोटी साउन १२ गते । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडको विकास निर्माणको रकम व्यापक दुरुपयोग भएको भन्दै डोटी जिल्लाका विभिन्न सरोकारवालाले दबाबपछि जिल्ला प्रशासन कार्यालय डोटीले आज खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालयमा छापा मारेको छ । प्रशासनले कार्यकारी निर्देशकसहित कार्यालयका महत्वपूर्ण कागजातहरु छानविनका लागि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीका सुब्वा तेजबहादुर खड्काको नेतृत्व र विद्यार्थीहरुको समन्वयमा गएको टोलीले आज मध्यान्ह कार्यालयमा छापा मारेको हो । अनियमितताको व्यापक चर्चा भएपछि अस्ति डोटी जिल्लाका विद्यार्थीहरुले प्रशासनलाई कार्वाहीका लागि दबाब स्वरुप पर्यटन कार्यालयमा तालाबन्दी गरेका थिए । यसअघि हिजो कार्यकारी निर्देशक गणेश सिंहले आफूलाई लगाएको आरोप गलत भएको भन्दै प्रेस विज्ञप्ति प्रकाशन गरेका छन् । त्यस्तै आर्थिक वर्ष २०६८÷०६९ को निर्माण कार्यक्रममा विभिन्न निर्माण उपभोक्ता समितिलाई भुक्तानी गरेको रकम उपभोक्ता समितिका पदाधिकारी र कार्यकारी निर्देशकको मिलेमतोमा करीब ८३ लाख हिनामिना भएको आरोप लागेको छ ।
विगतमा समेत खप्तड क्षेत्र पर्यटन विकास समिति डोटीले लाखौँको भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करीव दूई वर्ष मुद्दा चलेको थियो । यस क्रममा पर्यटन विकासको सम्पूर्ण अनुदान तथा कार्यालय व्यवस्थापनको खर्च समेत रोक्का भएको थियो ।
मनहरीमा बेवारिसे गाँजा बरामद ।
सुरजकुमार भुजेल, मकवानपुर १२ गते । मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा लागू औषध गाँजा फेला परेको छ । पूर्व–पश्चिम राजमार्गको हेटौंडा—नारायणगढ सडकखण्डअन्तर्गत मनहरी–३ स्थित सडक छेउमा बेवारिसे अवस्थामा आज गाँजा भेटिएको हो । १५ वटा बोरामा हालेर छोडेको अवस्थामा ३८३ केजी गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मनहरीले बरामद गरेको गाँजा भारत निकासीका लागि ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।
सेती नदी किनारबासी वर्षौदेखी धमिलो पानी पिउन बाध्य ।
प्रकाश बम, डोटी साउन १२ गते । खानेपानीको सुविधा नभएपछि सेती नदी किनारमा बसोबास गर्नेहरु वर्षौदेखी सेती नदीको धमिलो पानी पिउँदै आएका छन् । सेती नदी किनारका बस्तीहरुमा शुद्ध खानेपानीको सुविधा नहुँदा स्थानीयबासीहरु वर्षौदेखि खाना पकाउनेदेखि पिउनेसम्म नदीकै पानी प्रयोग गर्दै आएका छन् ।
नदी किनारका करिब एक दर्जनभन्दा बढी बस्तीहरु घोल्तडा, पिपल्ला, दिपायल, समुवागाड, कालागाड, सिरखोलीसेन, तिलताली, गोपघाट, तल्लीसात, अमडोरा, बानेडुंग्रिसेन,नारी दाङ,लोडेघाट र तलाराका बासिन्दाहरु सेती नदीको धमिलो पानी पिउन बाध्य भएका हुन् । जिल्लाको दिपायल, द्वारीखोला, कालागाड, सिरखोलीसेन, गोपघाट र बानेडुंग्रिसेनका होटलहरुमा ग्राहकलाई समेत नदीकै पानी खुवाइने गरेको होटल संचालकहरु बताउछन् ।
कृषि विकास बैंक रोल्पा अञ्चलमै उत्कृष्ट, स्वरोजगार कार्यक्रम रोल्पामा सुरु ।
ज्ञानेन्द्र शर्मा, रोल्पा साउन १२ गते । कृषि विकास बैक रोल्पा यस वर्ष राप्तीमै उत्कृष्ट भएको छ । राप्ती अञ्चलका १० वटा कृषि विकास बैकका शाखाहरुले आर्थिक वर्ष २०६८÷०६९ मा गरेको कार्य विवरणको आधारमा कृषि बैक रोल्पा अञ्चलमै उत्कृष्ट भएको हो ।
रोल्पाका स्थानियहरुको लगनशीलता र बैङ्कप्रतिको विश्वासका आधारमा कृषि विकास बैङ्क रोल्पा उत्कृष्ट हुन सफल भएको बैङ्कका प्रबन्धक दुर्गाप्रसाद चौधरीले बताउनुभयो । रोल्पाका स्थानीयको लगनशीलताको चर्चा गर्दै उहाँले अञ्चलमै उत्कृष्ट हुनुमा व्यवसायीको हात रहेको बताउनुभयो । बंैकले ऋण लगानी, व्याज असुली, बैकिङ कारोबार, राहत कार्यक्रम, बंैक ग्यारेन्टी, रेमिट भुक्तानी, निक्षेप सङ्कलनलगायतका विषयमा कार्य गर्दै आएको जनाएको छ ।
पाल्पाको मिसन अस्पताललाई उत्कृष्ट पुरस्कार ।
सीता डोटेल,
पाल्पा साउन १२ गते ।ग्रामीण क्षेत्रमा सुलभ ढङ्गले गुणस्तरीय स्वास्थ्य सेवा पु¥याएकोमा युनाईटेड मिसन अस्पताल उत्कृष्ट अस्पतालका रुपमा पुरस्कृत भएको छ । वि.स.२०१२ सालमा बेलायती नागरिकको सोचमा तानसेन १० भुषालडाँडामा भएको अस्पताललाई स्वास्थ्य खबरपत्रिकाले यस बर्षको उत्कृष्ट हेल्थ अवार्डले पुरस्कृत गरेको हो ।
उत्कृष्ट अस्पतालका रुपमा पुरस्कृत भएपछि अस्पतालले आज खुसीयाली मनाएको छ । खुसीयाली मनाउन जिल्लाका राजनैतिक दल, कर्मचारी, पत्रकारहरु अस्पताल पुगेका थिए । उनीहरूले अस्पतालमा खुसीयाली साटासाट गर्नुको साथै अस्पतालको अझ प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
यसै अवसरमा अस्पतालका निर्देशक डा. रचेल कारकले युनाइटेड मिसन अस्पताल उत्कृष्ट भएकोमा आफुलाई निकै खुसी लागेको बताउदै यस कार्यमा अस्पतालका कर्मचारी, जिल्लाका सवै निकायहरुको सहयोगले सफल भएको बताउदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
एक सय ६५ बेड क्षमता रहेको मिसन अस्पतालमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, दाङ, रोल्पा, बाग्लुङ, पर्वत, तनहँुलगायतका जिल्लाबाट आउने बिरामीहरूले सेवा लिइरहेका छन् ।
अवरुद्ध सडक नखुलेको भन्दै जिल्ला प्रशासनलाई ध्यानाकर्षण ।
नरेन्द्र कार्की, दार्चुला साउन १२ गते । महाकाली लोकमार्ग अन्तर्गत खलंगा गाकुले सडकखण्डको ठाउँ ठाउँमा सडक अवरुद्ध भएको भन्दै दार्चुला उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । आज उद्योग वाणिज्य सङ्घका पदाधिकारीले निमित्त प्रमुख जिल्ला अधिकारी दानबहादुर ऐडीलाई भेटी अवरुद्ध सडक खुलाउन ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले किम्तडी सडक बन्द भएको तीन साता हुन लाग्दा पनि सडक विभागले कुनै ध्यान नदिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । उद्योग वाणिज्य सङ्घका अध्यक्ष मगंलसिह ठगुन्नाको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयमा भेट गरी सडक अवरुद्ध हुँदा व्यवसायीहरुको सामान बाटो मै रोकिएको भन्दै तत्काल खुलाउनुपर्ने बताउनुभयो । उहाँले सामान्य अवरद्ध सडक पनि खुलाउनको निमित्त सडक विभागले पहल नगरेको बताउनुभयो ।
उद्योगी व्यवसायीहरुको समान बाटोमा नै रोकिदा बजारमा नेपाली समानका अभाव सिर्जना भएको उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरकसिह ठगुन्नाले बताउनुभयो । निमित्त प्रजिअ ऐडीले सडक विभागसँग कुरो भइसकेको बताउनुभयो । उहाँले सडक विभागका इन्जिनियरहरुलाई फोनमार्फत तत्काल सडक खुलाउन निर्देशन दिनुभएको थियो ।
डडेल्धुरामा किशोरकिशोरीको प्रजनन स्वास्थ्यसम्बन्धी बृहत सांस्कृतिक कार्यक्रम ।
राखी कुँवर, डडेल्धुरा साउन १२ गते । किशोर किशोरीको प्रजनन् स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यले आयोजित किशोर किशोर सांस्कृतिक कार्यक्रम आज डडेल्धुराको बगरकोट गाविसमा सम्पन्न भएको छ । रेडक्रस सोसाइटी उपशाखा बगरकोटको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न गाविसका किशोरकिशोरीहरुले किशोरकिशोरीको प्रजनन स्वास्थ्य सम्बन्धि विभिन्न गित गाउनुका साथै नाटक समेत प्रस्तुत गरेको स्थानीयबासी रमेश प्रसादले बताउनु भयो । कार्यक्रम बोल्ने अधिकांश वक्ताहरुले गाउँ समुदायमा पढेलेखेकाका किशोर किशोरीको प्रजनन स्वास्थ्यसम्बन्धी जनाकारी भएरका युवाहरु भएता पनि खुलेर भन्न नसक्नाले यो सम्बन्धी समस्या हुने गरेको बताउनुभयो । साथै उहाँहरुले ग्रामीणस्तरमा चेतनाको कमीले अभिभावकहरु आफ्नो सन्तानहरुलाई यस बारेमा जानकारी गराउन नसकेकाले समस्या हुने गरेको बताएका थिए ।
बागलुङको एक विद्यालयका विद्यार्थीले छात्रवृत्ति पाएनन् ।
शान्ति छन्त्याल, बागलुङ साउन १२ गते । पश्चिम बागलुङको एक विद्यालयका विद्यार्थीहरुले २०६८ सालमै पाउनुपर्ने छात्रावृत्ति अझैसम्म पनि पाउन सकेका छैनन् । बुर्तिबाङ गाविसस्थित उत्तरगंगा उच्चमाविमा कक्षा ११ र १२ मा अध्ययनरत ६ जना विद्यार्थीहरुले छात्रावृति नपाएका हुन् ।
गएको २०६८ साल साउन महिनामा छात्रवृत्तिका लागि फर्म भरेका १२ जनामध्ये छनौटमा परेका ६ जनाले प्रतिविद्यार्थी दुई हजारका दरले पाउनुपर्ने सूचना जारी गरिएको आधारमा आफूहरुले पनि फर्म भरेको तर हालसम्म को—को छनौटमा परियो भन्ने कुरानै थाहा नपाएको र रकम पनि उपलब्ध नगराईएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
साथै उनीहरुले शिक्षकहरुको मिलेमतोमा आँफूहरुले छात्रावृत्ति स्वरुप पाउनुपर्ने रकम अन्यत्रै खर्च गरेको समेत आरोप लगाएका छन् । तर व्यस्तताका कारण छात्रावृत्ति वितरणमा ढिलाई भएको र केहि दिनमै वितरण गर्ने तयारी रहेको विद्यालयका प्राचार्य ईश्वरीप्रसाद पौडेलले बताउनुभयो ।