Responsive Ad Slot

latest

नेपालको समया अनुसार ११ ३० को ताजा समाचार तनहुँ खबर डटकम को एउटै थलोमा पढ्नुहोला I

Thursday, July 5

/ by Admin BHOLA THAPA

राष्ट्रपति र काङ्ग्रेस सभापति कोइरालाबीचको छलफल जारी ।
काठमान्डौ असार २१ गते ।आगामी आर्थिक वर्षको बजेटको बारेमा राष्ट्रपति डा रामबरण यादव र नेपाली काङ्ग्रेस सभापति सुशील कोइरालाबीच अहिले छलफल भइरहेको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटमा बजेट ल्याउने सरकारी तयारी र विपक्षी दलहरुको विरोधको बारेमा कुराकानी भइरहेको बुझिएको छ । भेटमा काङ्ग्रेस सभापति कोइरालाले अध्यादेशबाट पूर्णआकारको बजेट ल्याउने सरकारले तयारी गरेकोमा ध्यानाकर्षण गराउँदै बजेट अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह गरिरहनु भएको शीतलनिवास स्रोतले जनाएको छ । विपक्षी दलहरुले राष्ट्रिय सहमति गरेर बजेट ल्याउनुपर्नेमा जोड दिए पनि सरकारले भने सहमति नभए अध्यादेशबाटै भए पनि पूर्ण आकारको बजेट ल्याउने तयारी गरिरहेको छ ।

दलीय सहमतिविना आउने बजेट मान्य नहुने कोइरालाको भनाइ ।
काठमान्डौ असार २१ गते । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले दलीय सहमतिविना आउने बजेट आफूहरुलाई मान्य नहुने बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग आज विहान भएको भेटमा सभापति कोइरालाले सरकारले एकलौटी रुपमा ल्याउने बजेटको कुनै अर्थ नहुने बताउनु भएको हो ।

अहिलेको सरकारलाई बजेट ल्याउने अधिकार नभएकोभन्दै सभापति कोइरालाले राजनीतिक सहमतिको विकल्प नभएको धारणा राख्नु भएको थियो । कमर्सका पदाधिकारीहरुले भने राजनीतिक सहमति गरेर समयमै पूर्ण आकारको बजेट ल्याउँदा सम्भावीत आर्थिक सङ्कटबाट बच्न सकिनेमा जोड दिएका थिए । चेम्बर अफ कमर्सको टोलीले आज दिउँसो गृहमन्त्री समेत रहनु भएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि बजेटको बारेमा छलफल गर्दैछ ।

आदिवासी, जनजाति सङ्गठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने ।
काठमान्डौ असार २१ गते । जातिय पहिचानसहितको सङ्घीयता सुनिश्चितताको मागगर्दै आदिवासी, जनजाति सङ्गठनहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । हिजो सुरु भएको आदिवासी जनाजतिहरुको २ दिने राष्टिय सम्मेलनले गरेका निर्णय र आन्दोलनका कार्यक्रम एक साथ सार्वजनिक गर्ने तयारी भएको हो । आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले सङ्घीयताविरोधीहरुको विरुद्वमा केन्द्रदेखि जिल्ला, गाउँस्तरमा लागुहुनेगरी दसैंअघिसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको सीआईएनलाई जानकारी दिनुभयो । अध्यक्ष लेखीका अनुसार विघटित संविधानसभामा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलहरुमा सङ्घीयता विरोधीहरुको जमात धेरै भएकाले दलहरुलाई दवावको लागि आन्दोलन गर्न लागिएको हो ।

सम्म्ेलनको दोस्रो दिनको छलफल राति अवेरसम्म हुने भएकाले आन्दोलनको कार्यक्रम भोलि सार्वजनिक गर्ने बताइएको छ । राष्ट्रिय सम्मेलनमा सहभागीहरुले जातिय पहिचानसहितको सङ्घीयता कायम गर्नको लागि आदिवासी, जनजाति सम्मिलित नयाँ राजनीतिक शक्ति गठनमा जोड दिएका थिए । नयाँ राजनीतिक शक्ति निर्माणको लागि छलफल भएको भए पनि यसबारेमा तत्काल निर्णय नहुने महासङ्घका अध्यक्ष लेखीले बताउनुभयो ।  आदिवासी, जनजातिहरुको राष्ट्रिय सम्मेलन आज पनि जारी छ ।
पूर्व आदिवासी जनजाति ककस, जनजाति महासङ्घ, राष्टिय आदिवासी जनजाति महिला महासङ्घलगायतको संयुक्त आयोजनामा भएको सम्मेलनमा देशभरका एक हजारभन्दा बढी जनजाति अधिकारकर्मीहरुको सहभागिता रहेको महासङ्घले जनाएको छ ।

फोरम गणतान्त्रिका असन्तुष्ट नेताहरुले आज पनि छलफल गर्ने ।
काठमान्डौ असार २१ गते । आगामी रणनीतिको बारेमा छलफल गर्न मधेसी जनअधिकार फोरम गणतान्त्रिकका असन्तुष्ट नेताहरुले आज पनि आन्तरिक छलफल गर्ने भएका छन् । आज दिउँसो ३ बजेपछि सुरु हुने अनौपचारिक छलफमा प्रधानमन्त्री डा बाबुराम भट्टराईको आश्वान तथा आफूहरुको भावी योजनाको बारेमा कुराकानी हुने फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य सिताराम अग्रवालले जानकारी दिनुभयो ।
अग्रवालका अनुसार हिजो साँझ भएको भेटमा प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्व दलहरुसँग छलफल गरेर उचित निर्णय लिने बताउनु भएको थियो । फोरम गणतान्त्रिकका असन्तुष्ट नेताहरुले कार्यवाहक अध्यक्षबाट हटाइएका राजकिशोर यादवलाई सूचना तथा सञ्चारमन्त्रीबाट तत्काल हटाउन मागगर्दै प्रधानमन्त्रीलाई भेटेका थिए ।
प्रधानमन्त्रीले मोर्चामा आवद्व दलहरुसँग छलफल गर्ने बताएपछि गणतान्त्रिकका असन्तुष्ट नेताहरुले मोर्चाका घटकहरुसँग पनि कुराकानी गर्ने निर्णय गर्ने स्रोतले जनाएको छ । आजको छलफल फोरम गणतान्त्रिकका महासचिव आत्मरामप्रसाद साहको निवास अनामनगरमा हुनेछ । पार्टीको निणर्यविपरित कामगर्दै गएकोभन्दै फोरम गणतान्त्रिकका असन्तुष्ट नेताहरुले राजकिशोर यादवलाई हटाएर नन्दनकुमार दत्तलाई कार्यवाहक अध्यक्ष बनाएको घोषणा गरेपछि गणतान्त्रिकभित्र विवाद सुरु भएको हो । 


रौतहटको गरुडामा गोली चल्यो, एकको मुत्यु ।।
दिपेश पौडेल,
रौतहट असार २१ गते ।आज बिहान रौतहटको गरुडामा प्रहरी र गाउँलेबीच दोहोरो भिडन्त हुदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीपुर गाविस वडा नं. ६ निवासी ३० वर्षका रमोद साह कलवार भएको जनाइएको छ । प्रहरीको गोली लागी ८ जना गाउँले र ३ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
 केही दिन अघि ट्याक्टरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको आरोपमा ट्याक्टर चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएकोमा गाउँलेले ट्याक्टर चालक निर्दाेष भएको भन्दै हिजो साँझ ६ बजेदेखि ९ बजेसम्म सडक अवरुद्ध पारेका थिए । गाउँलेहरुले आज बिहानदेखि सडक अवरुद्ध पारेपछि प्रहरीले गाउलेमाथि अनाचक लाठी चार्ज गरेपछि गाउँलेहरु प्रतिकारमा उत्रिएका थिए । प्रतिकारमा उत्रिएका स्थानियबासिन्दालाई २२ राउण्ड अश्रुग्यास प्रहार गरिएको छ भने १५ राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
यसै गरि  सिरहामा करेन्ट लागेर आजा एक जनाको मृत्यु भएको छ  सिरहाको लगडी गढियानी २ बस्ने  १६ वर्षीया महेश शाहको करेन्ट लागेर मृत्यु भएको प्रहरी चौकी लगडी गढियानीले जनाएको छ । आफ्नै घरमा बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर घाईते भएका साहलाई उपचारका लागि दरभंगा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले  जानकारी दिएको छ । शाहको शव अहिले पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।


काठ तस्करमा संलग्न दुई व्यक्तिसहित सर्लाहीबाट ट्याक्टर र मोटरसाइकल बरामद ।।
शुक्रराज लामा,  सर्लाही असार २१ गते । काठ तस्करमा संलग्न दुई व्यक्तिसहित सर्लाहीबाट ट्याक्टर र मोटरसाइकल बरामद गरिएको छ । इलाका वन कार्यलय फूलजोरका गस्ति टोलीले सर्लाहीको पत्थरकोटबाट काठ तस्करमा संलग्न दुई जनालाई पक्रेको हो । काठ तस्कर गर्न प्रयोग गरिएको ना १ त ७१११ नम्बरको एक थान ट्रयाक्टर र सुराकीको लागि प्रयो गरिएको ना १२ प ३२१९ नम्बरको एक थान पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।
वन गस्ति टोलीले बिहान पत्थरकोट ३ छेडा गाउँको लखन्देही खोलाबाट ट्याक्टरमा ६२ थान सालको फल्लि र कडी लोड गरेर अवैद्य रुपमा दक्षिण तर्फ लैजान खोजिरहेको अवस्थामा पक्राउ गरेको उप सचिव शिलानाथ झाले जानकार दिनुभयो । पक्राउ पर्नेमा ट्याक्टर चालक धनबहादुर लामा र ट्रयाक्टर धनी टिकालाल श्रेष्ठ छन् । ६ जनाको संख्यामा रहेका भएता पनि अन्य फरार भएका र उनीहरुको खोजि भइरहेको बन कार्यलय फुलजोरले जनाएको छ । 



पहिरोले रिडी रुद्रबेणी सड्क खण्ड अवरुद्ध ।।

मनोज बस्नेत, ,
गुल्मी  असार २१ ग्ते । सडक माथिबाट झरेको पहिरोले गुल्मीको रिडी रुद्रबेणी सड्क खण्ड अवरुद्ध बनेको छ । बर्षातसँगै आज बिहान ग्वादी गाविसको साघुँरेबाट झरेको पहिरोले बाटो अवरुद्ध बनेको हो । बाटो अवरुद्ध भएपछि बाग्लुङ बुर्तीबाङ, गुल्मीको मजुवालगायतका स्थानबाट गुल्मी रिडी, तम्घास, पाल्पा, बुटवल, काठमाण्डौकालगायतका स्थानका लागि छुटेका गाडीहरु बिच बाटोमै रोकिएका छन् । पहिरो हटाउन कतैबाट पहल नभएपछि यात्रुहरु बिचल्लीमा परेका छन् । पहिरो ठुलो भएकोले तत्काल हटाउन नसकिने अवस्था रहेको स्थानीयबासिन्दा शेरबहादुर कुवंरले जानकारी दिनुभयो ।
 
 गोरखामा ट्रक दुर्घटना हुँदा एक एक जनाको मृत्यु ४ घाईते ।


गोरखा, असार २१ गते । तनहुँको आबुँखैरेनीबाट गोरखाको अबुवा आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा एक एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ट्रक सडकबाट २ सय  मिटर तल खस्दा हेटौडाका दीलिप बम्जमको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी हेटैडाका  चालक विक्रम सिङ, आकास सिङ, राजकुमार सिङ र इच्छा रुम्ला घाइते हुनु भएको छ ।
 ढुङ्गा लिन अबुवा आउँदै गरेको ना ३ ख ८०६ नम्बरको ट्रक बिहान मझुवा देउरालीको पाँच किलोको तोरीबारीमा दुर्घटनामा परेको हो । घाइते मध्ये गम्भीर अवस्थामा रहेका विक्रम सिङ र राजकुमार सिङलाई आँबुखैरेनीको स्वास्थ्य सस्थामा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 
ढोरपाटनमा शिकारीबाट ६३ लाख राजस्व संकलन ।
बागलुङ असार २१ गते । ढोरपाटन शिकार आरक्षमा शिकार खेल्नेको संख्या बढ्दै गएपछि आर्थिक वर्ष २०६८÷६९मा ६३ लाख ४७ हजार ५१ रुपैयाँ राजस्व संकलन भएको छ । दुई सिजन गरी शिकार खेल्नको लागि दिईएको अनुमतीबाट दर्ता, सामान्य र पुरक दस्तुर र व्लक आरक्षण गरी चार शिर्षकबाट राजश्व संकलन भएको हो । चालु आर्थिक वर्षमा विभिन्न कम्पनीमार्फत आएका २७ शिकारीले २५ नाऊर र १३ झारलको शिकार गरेको आरक्ष कार्यालयले जनाएको छ । नेपाल वाइल्डलाइफ एड्भेन्चर्स प्रालि मार्फत आएका आठ शिकारीले ८ नाऊर र ५ झारलको शिकार गरेका छन् ।
त्यसैगरी हिमालयन सफारी नेपालमार्फत आरक्ष भित्रिएका ५ शिकारीले ४ नाऊर र ५ झारल, नेपाल वाइल्ड लाईफ सफारीमार्फत आएका नौ शिकारीले ९ नाऊर र ६ झारल र ट्रायक्स एण्ड टे«ल्समार्फत भित्रिएका ४ नाऊर र ४ झारलको शिकार गरेका छन् । विभिन्न कम्पनीमार्फत आउने शिकारीहरुले २८ नाऊर र १८ झारल मार्ने माग गरी अनुमती लिएको भएता पनि माग अनुसार मार्न नसकेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख शेरसिंह ठगुनाले बताउनुभयो ।
 अन्तर्राष्ट्रिय शिकारीलाई अनुमती पाएका कम्पनीहरुले नेपाल भित्राउने, शिकार व्यवस्थापनलगायतका काममा सहयोग गर्ने र आरक्ष विभागबाट अनुमती समेत कम्पनीले नै लिने गरेको प्रमुख ठगुनाले बताउनुभयो । आरक्षलाई विभिन्न ब्लकमा विभाजन गरी शिकारको अनुमती दिने गरिएको छ । यस वर्ष सुनदह, दोगडी, फागुने, सेङ, बाह्रसयलगायतका ब्लकमा शिकारी धेरै गएको आरक्षका रेन्जर सरोज पन्थीले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI