नवीनराज कुइँकेल,
लमजुङ असार २० गते । लमजुङको सदरमुकाम
बेसीसहरबाट प्रसारण भइरहेको रेडियो लमजुङ ८८.४ मेगाहर्ज आजबाट तेस्रो
वर्षमा प्रवेश गरेको छ । २०६७ साल असार २० गते आजैको दिन रेडियो लमजुङले
परिक्षण प्रसारण शुरु गरेको थियो ।
रेडियो लमजुङको दुई वर्षको अवधीमा सहयोग,
माया र सल्लाह सुझाव दिनुहुने सबै श्रोता तथा विज्ञापनदाता र सहयोगी
निकायप्रति रेडियो लमजुङका अध्यक्ष राजकुमार पाण्डेले धन्यबाद ज्ञापन
गर्नुभएको छ । शान्ति, विकास र लोकतन्त्रको लागि प्रतिबद्ध सकारात्मक
आवाजका रुपमा प्रसारण भइरहेको रेडियो लमजुङ आगामी दिनमा पनि आफ्नो
प्रतिवद्धताप्रति विचलित नहुने अध्यक्ष पाण्डेले जनाउनुभएको छ ।
लमजुङका सञ्चारकर्मी, विकासकर्मी तथा
उद्योगीव्यवसायी सम्मिलित सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा
सञ्चालित रेडियो लमजुङको दुई वर्षको यात्रामा रेडियोबाट खसभाषा, गुरुङ भाषा
र तामाङ भाषामा समाचार प्रसारण गर्नुका साथै विभिन्न सचेतनामुलक,
मनोरञ्जनमूलक र जानकारीमुलक कार्यक्रमहरु प्रसारण हुँदै आएको छ ।
हरेक नागरिकको सही, सत्य र निश्पक्ष
खबर थाहा पाउने अधिकारलाई सुनिश्चित गर्दै रेडियोले प्रत्येक दुईघण्टाको
फरकमा लमजुङ खबरका साथै रेडियो नेपाल, साझा खबर, नेपाल दर्पण, बीबीसी
नेपाली सेवालगायतका समाचारहरु पनि प्रसारण गर्दै आएको छ । रेडियोबाट,
बालबालिका, युवा, बृद्धा, महिला, विभिन्न जातजाति तथा धर्मलाई समेट्ने गरी,
शिक्षा, पर्यटन, स्वास्थ्य, कृषि, जनजीवन, साहित्य आदि क्षेत्रका
कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।