रुपाकोट रेडियो, खोटा असार २७ गते ।एसएलसी परीक्षा व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयले खोटाङको जालपा उच्च मावि परीक्षा केन्द्र तथा सोही केन्द्रका केन्द्राध्यक्षलाई पुरस्कृत गर्ने भएको छ । परीक्षाको राम्रो व्यवस्थापन गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयले जिल्लाका २० वटा केन्द्रमध्ये जालपा उच्च मावि परिक्षा केन्द्र तथा केन्द्राध्यक्ष बमबहादुर राईलाई पुरस्कृत गर्ने भएको हो । परीक्षा नियन्त्रण कार्यालयले निर्धारण गरेको मापदण्ड तथा जिल्ला परीक्षा समन्वय समितिको सिफारिसका आधारमा जालपा परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष राईलाई परीक्षा नियन्त्रण कार्यालयले पुरस्कृत गर्ने भएको खोटाङका जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले बताउनुभयो । कार्यालयले आगामी असार–२८ गते चितवन हुने एक कार्यक्रमकाबीचमा उत्कृष्ट केन्द्रलाई १५ हजार तथा केन्द्राध्यक्षलाई १० हजार नगद पुरस्कार प्रदान गर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
परीक्षा केन्द्रको भौतिक अवस्था, परीक्षार्थीहरुलाई उपयुक्त खाने तथा बस्ने ठाँउको सुविधा, केन्द्रको शान्ति सुरक्षा, शान्त वातावरण, यातायातको सुविधा, केन्द्राध्यक्षको योग्यतालगायतका आधारमा केन्द्र तथा केन्द्राध्यक्षलाई पुरस्कारका लागि सिफारिस गरिएको जिल्ला शिक्षा अधिकारी पोख्रेलले बताउनुभयो । यस बर्षको एसएलसी परीक्षामा खार्मी, पाथेका, हौचुर, ऐशेलुखर्क र जालपा उच्चमाविका परीक्षार्थीहरुले जालपा परिक्षा केन्द्रबाट परीक्षा दिएका थिए ।