जाजरकोट असार ३० गते । रामकुमार शाही, , जाजरकोटजिल्लामा रहेका शिर्ष दलहरुका बीचमा कुरा मिल्न नसकेपछि द्वन्द्व पीडित परिवारका लागि जाजरकोटमा आएको ६२ लाख रकम फ्रीज भएर गएको छ । सरकारले शान्ति मन्त्रालयमार्फत सहिद, घाइते अपांग, वेपत्ता तथा विस्थापितहरुका परिवारलाई लक्षित गरेर रकम पठाएको हो । कृषि विभागमार्फत गठन गर्ने द्वन्द्व प्रभावित कार्यकारिणी समिति निर्माणमा पटकपटकको प्रयासपछि पनि दलहरुबीच कुरा नमिलेपछि अन्नतः रकम फ्रीज भएको हो । समितिको अध्यक्ष पदमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीका बीचमा आ–आफ्नै दावीका कारण समिति गठन नै नभएर उक्त रकम फ्रीज गएको हो । गएको वैशाख ३ र ६ गते निर्वाचन क्षेत्र नम्बर १ को दल्ली र क्षेत्र नम्बर २ को थलह बजारमा समिति गठन गरिएको थियो । समितिमा माओवादीको बैद्य समूह र संस्थापन पक्षबीच कुरा नमिलेपछि समिति खारेज गरिएको थियो । त्यसपछि वैशाख २७ गते सदरमुकाम खलंगामा सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनीधिहरु बसेर एक समिति निर्माण गरिएको थियो तर समितिमा रहेका दलहका अन्य नेताहरुबाटै चर्काे विवाद भएपछि उक्त समितिले काम गर्न सकेको थिएन ।