असार २३ – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले आगामी मंसिर ७ गते घोषणा गरेको निर्वाचन नौटंकी मात्र भएको बताउनुभएको छ । जनकपुरमा एमालेको अञ्चल स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको शनिवार समापन गर्दै खनालले चुनाव असम्भव भएको दावी गर्नुभयो ।‘सरकारले घोषणा गरेको निर्वाचन एउटा नौटंकी मात्र हो’, अध्यक्ष खनालले भन्नुभयो, ‘यो सम्भव छैन ।’प्रधानमन्त्री डा। बाबुराम भट्टराईले स्वच्छाधारी र संविधान विरोधी कदम चालेर निर्वाचन घोषणा गरेको उहाँले आरोप लगाउनुभयो । माओवादी देशलाई मुठभेड र ध्रवीकरण तर्फ धकेलेको भन्दै खनालल दलहरुबीच सहमतिको विकल्प नरहेको दोहोर्याउनुभयो ।मुलुकलाई निकास दिन जनआन्दोलन, जनदवाव र राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै उहाँले संविधानले भनई राजनीतिक सहमतिले देशलाई निकास दिने बताउनुभयो । खनालले एक मधेश एक प्रदेश तराईको श्रमजीवी जनताको अवधारणा नरहेको भन्दै नेपाललाई विभाजन गर्न यस्तो मुद्दा उठाइएको बताउनुभयो ।कार्यक्रममा सचिव युवराज ज्ञवालीले एमालेलाई संघीयता तथा आदिवासी जनजाति विरोधी भएको झुठा प्रचारबाजी गरिएको बताउनुभयो ।